मलाई भगवानजस्तै मानिन्थ्यो: रोनाल्डो
'मलाई लाग्छ, म्यान युनाइटेड विश्वका राम्रोमध्येको एउटा क्लब हो, त्यतिमात्र होइन मेरो मनपर्ने क्लब पनि हो', अमेरिकामा सञ्चारकर्मीसँग भएको कुराकानीमा रोनाल्डोले भने। उनले म्यान युनाइटेडमा रहँदा आफूलाई भगवान्जस्तो व्यवहार गरिएको धारणा पनि व्यक्त गरे। 'म म्यान युनाइटेडमा रहँदा मलाई भगवान्जस्तै व्यवहार गरिन्थ्यो', रोनाल्डोले भने, 'यसका लागि सम्बन्धित सबैप्रति म कृतज्ञ छु। मैले कहिले पनि म्यान युनाइटेड फर्कने ढोका बन्द गरेको छैन।'
रोनाल्डो सन् २००८ मा म्यान युनाइटेडमै रहँदा फिफा वर्ष खेलाडी घोषित भएका थिए। उनकै प्रदर्शनमा म्यान युनाइटेडले क्लबस्तरीय विभिन्न प्रतियोगितामा थुप्रै सफलता हात पारेको थियो। इङ्लिस क्लब फुटबलमा लामो समय एकछात्र राज गरेको म्यान युनाइटेडले गत सिजन भने कमजोर प्रदर्शन ग:यो। म्यान युनाइटेड यो सिजनको युरोपा लिगका लागिसमेत छनोट हुन असफल भएको छ।
रोनाल्डोले नयाँ प्रशिक्षक लुइस भान गालले म्यान युनाइटेडलाई सफलता दिलाउने विश्वास पनि व्यक्त गरे। डेभिड मोएसको प्रशिक्षणमा खराब प्रदर्शन भएपछि म्यान युनाइटेडले नेदरल्यान्ड्सको राष्ट्रिय टोली समालिरहेका भान गाललाई प्रशिक्षकका रूपमा भित्र्याएको हो। शनिबार राति भएको प्रिसिजन खेलमा म्यान युनाइटेडले रियल म्याड्रिलाई ३-१ गोलले हराएको थियो।
सन् २००९ देखि रोनाल्डो स्पेनिस क्लब रियलबाट खेल्दै आएका छन्। रियलका लागि उनले घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगसमेत जितिसकेका छन्। उनकै उत्कृष्ट प्रदर्शनमा रियलले लामो समयपछि गत सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो।
Comments
Post a Comment