आईसीसीको आँखामा कालिस महान अलराउन्डर
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर ज्याक्स कालिस महान अलराउन्डर भएको बताएको छ। ३८ वर्षीय कालिसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्टै आईसीसीका कार्यकारी प्रमुख डेभिड रिचार्डसनले विज्ञप्ति जारी गर्दै यी प्रतिभाशाली खेलाडीप्रति सम्मान व्यक्त गरेका हुन्।
'क्रिकेट इतिहासमा कालिस सधैं महान अलराउन्डरका रूपमा रहनेछन्', विज्ञप्तिमा उल्लेख छ। गत वर्ष टेस्ट क्रिकेटबाट संन्यास लिएका कालिसले बुधबार एकदिवसीय र टीट्वेन्टी पनि नखेल्ने घोषणा गरेका थिए। टेस्टबाट संन्यास लिए पनि कालिसले आगामी वर्ष हुने एकदिवसीय विश्वकप खेल्नमा दक्षिण अफ्रिकी क्रिकेट बोर्ड आशावादी थियो। तर उनले बुधबार अप्रत्यासित रूपमा सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरे।
श्रीलंकाविरुद्धको हालै सम्पन्न तीन खेलको एकदिवसीय शृंखलामा कालिसको प्रदर्शन सन्तोषजनक थिएन। उनले तीन खेलमा पाँच रनमात्र बनाउन सकेका थिए। दायाँ हाते ब्याट्सम्यान कालिसले दक्षिण अफ्रिकाका लागि तीन सय २८ एकदिवसीय क्रिकेट खेलेर ११ हजार पाँच सय ७९ रन जोडेका छन्। उनी बलिङमा पनि उत्तिकै सफल थिए। उनले एकदिवसीय क्रिकेटमा दुई सय ७३ विकेट लिएका छन्।
Comments
Post a Comment