युनिसको बहादुरीपूर्ण शतक

भेट्रान ब्याट्सम्यान युनिस खानले नटआउट रहँदै बनाएको शतक मदतले पाकिस्तान श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन बुधबार सम्हालिएको छ। युनिस १ सय ३३ रन बनाएर खेलिरहेका छन्। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तान एक समय तीन विकेट गुमाएर ५६ रनको खराब स्थितिमा थियो।

त्यसयता युनिसले बहादुरीपूर्ण शतक बनाउँदै पाकिस्तानी इनिङ्सको उद्धार गरे। खराब प्रकाशका कारण दिनको खेल दुई ओभर अगाडि समाप्त हुँदा पाकिस्तानले गाले अन्तर्राष्ट्रिय मैदानमा चार विकेट गुमाएर २ सय ६१ रन बनाएको छ। दुई विकेट क्षतिमा १९ रनको स्थितिमा ३६ वर्षीय मध्यक्रमका ब्याट्सम्यान क्रिजमा आएका थिए।

उनले आफ्नो ९० औं टेस्टमा २४ औं शतक पूरा गर्नेक्रममा ११ चौका र एक छक्का प्रहार गरेका छन्। पाकिस्तानी क्रिकेटमा उनले भन्दा एक बढी २५ टेस्ट शतक इन्जमाम उल हकले मात्र बनाएका छन्। युनिससँग मिलेर कप्तान मिसवाह-उल-हकले चौथो विकेटका लागि सय रनको साझेदारी गरे। स्पिनर रंगना हेराथको बलमा विकेट गुमाउन अगाडि उनले ३१ रन जोडे।

त्यसयता युनिसलाई असद सफिकले साथ दिए। पाँचौं विकेटका लागि उनीहरूले १ सय ५ रनको साझेदारी गरिसकेका छन्। असद आफैं५५ रन बनाएर खेलिरहेका छन्। युनिस ५५ रनको व्यक्तिगत स्कोरमा आउट हुनबाट जोगिएका थिए। दिलरुवान परेराको बलमा रेफ्री ब्रसु अक्सफोर्डले उनलाई एलबीडब्लू घोषित गरेका थिए।

तर डिसिजन रिभ्यु सिस्टम (डीआरसी) मा बल स्टम्पबाट माथि गएको देखाएपछि युनिसको विकेट जोगिएको थियो। बिहानको सत्रमा श्रीलंकाली बलरले खेल आफ्नो नियन्त्रणमा लिएपछि युनिस र ४० वर्षीय मिसवाहले इनिङ्स सम्हालेका थिए। सिमर धमिका प्रसादले दुवै पाकिस्तानी प्रारम्भिक ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए।

छैटौं ओभरमा पाकिस्तान १९-२ को स्थितिमा थियो भने लन्चका बेला स्थिति ५९-३ मा पुगेको थियो। धमिकाले अहमद सेहजादलाई आफ्नो तेस्रो बलमै आउट गरे। त्यसयता उनले खुराम मन्जुरलाई तेस्रो ओभरमा एलबीडब्लू धरापमा पारे। अजर अली र युनिसले तेस्रो विकेटका लागि ३७ रन जाडेर स्थिति सम्हाल्ने प्रयास गरेका थिए।

अजरले ३० रन बनाए। त्यसमा उनले पाँच चौका प्रहार गरे। तर उनी लन्चसम्म जोगिन सकेनन्। हेराथको बलमा उनी आउट भए। अघिल्लो रातको वर्षाका कारण पानी जमेको आउटफिल्डका कारण दिनको खेल ३० मिनेट ढिलो सुरु भएको थियो। घाँसरहित पिचले अन्तिम दिनतिर स्पिनरहरूलाई मदत गर्ने विश्वास गरिएको छ।

Comments

Popular Posts