सिटीले लाम्पार्डलाई लोनमा ल्याउने

म्यानचेस्टर सिटीले चेल्सीका पूर्वमिडफिल्डर फ्रान्क लाम्पार्डलाई न्युयोर्क सिटी एफसीबाट लोनमा भित्र्याउने तयारी पूरा गरेको छ। स्टामफोर्ड ब्रिजमा १३ वर्ष बिताएका लाम्पार्डलाई चेल्सीले सिजन सकिएपछि फुकुवा गरेको थियो। उनले चेल्सीबाट ६ सय ४९ खेल खेल्दै २ सय ११ गोल गरेका थिए। ३६ वर्षे लाम्पार्डले गत महिना न्युयोर्क सिटीबाट दुई वर्ष खेल्न सहमति जनाएका थिए।
मेजर लिग सकरको टोली न्युयोर्क सिटीको स्वामित्व पनि म्यानचेस्टर सिटी र बेसबल महारथी न्युयोर्क यान्किजकै हो। मेजर लिग सरकको सुरुआत मार्चमा हुन्छ। लाम्पार्डको विषयमा म्यानचेस्टर सिटीले कुनै प्रतिक्रिया जनाएको छैन। अर्को सातासम्म उनी सिटीको प्रशिक्षणमा फर्किसक्ने जनाइएको छ। व्यवस्थापक मानुइल पेलेग्रिनीले उनको फिटनेस प्रशिक्षण गर्नेछन्।
लोन सम्झौता मध्य जनवरीसम्म चल्ने जनाइएको छ। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय मिडफिल्डरलाई सिटीले प्रिमियर लिग र च्याम्पियन्स लिग दुवैमा दर्ता गर्ने योजना बनाएको छ। सिटीले पछिल्ला तीन वर्षमा दुईपल्ट प्रिमियर लिग जितिसकेको छ। गत सिजन चेल्सी लिगमा तेस्रो भएको हो। यी दुई टोली इतिहाद रंगशालामा सेप्टेम्बर ११ मा प्रिमियर लिगमा भिड्दै छन्।
स्टामफोर्ड ब्रिजमा रहँदा लाम्पार्ड चेल्सीको उपकप्तान पनि भए। उनले तीन प्रिमियर लिग तथा च्याम्पियन्स लिग र युरोपा लिग १–१ पटक जिते। वेस्ट ह्यामका पूर्वखेलाडी लाम्पार्डले चेल्सीलाई चार एफए कप र दुई लिग कपको उपाधि जिताउन पनि प्रमुख भूमिका खेले।
न्युयोर्क सिटीसँग अनुबन्धन भएपछि लामपार्डले भनेका थिए, 'न्युयोर्कले मेरा लागि सबै राम्रो संकेत गरेको छ। यसले मलाई उत्साहित बनाएको छ।' स्पेनका पूर्वस्ट्राइकर ३२ वर्षे डेविड भिया पनि मेजर लिग सकरको टोलीमा अनुबन्धन भएपछि तीन महिना म्यानचेस्टर सिटीको अस्ट्रेलियन पार्टनर क्लब मेलबर्न एफसीबाट लोनमा खेल्न सहमत भएका थिए।
म्यानचेस्टर सिटीका कार्यकारी प्रमुख फेरान सोरिएनोले भने, 'डेविड भिया र फ्रान्क लाम्पार्ड न्युयोर्क आउनुको एक कारण उनीहरूलाई कसले व्यवस्थापन गरिरहेको छ र कसको स्वामित्वमा चलिरहेको छ भन्नु पनि हो।' यसअघि पनि मेजर लिग सकरमा बिदामा रहेको बेला क्लिन्ट डेम्पसीले फुलह्याम, लन्डन डोनाभानले एभर्टन, रोबी किनले एस्टन भिल्ला, थिएरी अनरीले आर्सनलबाट लोनमा खेलिसकेको इतिहास छ।
ब्राजिल विश्वकप खेल्दै इङ्ल्यान्डबाट आफ्नो 'क्याप' संख्या १ सय ६ पुर्याकएका लाम्पार्डले आफ्नो क्लब निश्चित भएपछि राष्ट्रिय टोलीको भविष्यबारे टुंगो लगाउने जनाएका थिए।

Comments

Popular Posts