अब कसैलाई नटोक्ने सुआरेजको प्रतिवद्धता

स्पेनिस क्लव बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेजले अब आफूले कसैलाई नटोक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विश्वकप फुटबलका क्रममा इटालीका जर्जियो चिलिनीलाई टोकेका कारण चार महिने प्रतिबन्धमा परेका उनले बानी व्यहोरा सुधार्नका लागि विशेषज्ञसँग छलफल गरेको  जानकारी दिए ।
उनले मनोविज्ञान परामर्शदाताकै सल्लाहमा आफूले अब कसैलाई नटोक्ने घोषणा सार्वजनिक रुपमै गरेको बताए । ‘म मेरा समर्थकलाई भन्न चाहन्छु’ सुआरेजले भने ‘मैंले अब कसैलाई टोक्ने छैन, तपाईहरुले चिन्ता नगर्नुस ।’
मैदानमा विपक्षी खेलाडीलाई टोकेका कारण चौथो पटक प्रतिबन्धमा परेका उरुग्वेका उनले विश्वकपपछि निक्कै तनावमा परेको पनि बताए । सुआरेजले यसअघि आफूबाट भएका गल्ती र कमी कमजोरीका लागि समर्थकसँग माफी पनि मागेका छन् । सन् २०१० मा नेदरल्याण्डको अजाक्सबाट खेल्दा उनले पिएसभी इन्ढोभेनका ओटमान बकललाई पाखुरामा टोकेका कारण सुआरेज ७ खेलको प्रतिबन्धमा परेका थिए ।
यस्तै सन् २०११ मा म्यानचेष्टर युनाइटेडका प्याट्रिक इभ्रामाथि रंगभेदी टिप्पणी गरेपछि उनीमाथि ८ खेलको प्रतिबन्धमा साथै ४० हजार पाउण्डको जरिवाना सुनाईएको थियो । यस्तै सन् २०१३ मा चेल्सीका डिफेन्डर ब्रानिस्लाभ इभानोभिकलाई टोकेका कारण उनीमाथि १० खेलको प्रतिबन्ध लागेको थियो । सन् २०१४ को विश्वकपमा इटालीका जर्जियो चिलिनीलाई टोकेका कारण उनीमाथि ९ वटा अन्तर्राष्ट्रिय खेलको प्रतिबन्धका साथै ४ महिनासम्म फुटबलको कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाईएको थियो ।

Comments

Popular Posts