घाइते नेमार मैदानमा फर्कन आतुर

हालै सम्पन्‍न विश्‍वकप फुटबलका क्रममा गम्भीर घाइते भएका ब्राजिलका युवा स्ट्राइकर नेमारले आफू मैदानमा फर्कन आतुर रहेको बताएका छन्। उनले आफ्नो ढाडको दुखाइ पनि निकै कम भएको बताए। हाल जापान भ्रमणमा रहेका २२ वर्षीय नेमारले स्पेनिस ला लिगाको नयाँ सिजनअघि नै आफू मैदानमा देखा पर्ने सम्भावना रहेको जानकारी दिए।

विश्वकपको क्वार्टरफाइनल खेलका क्रममा नेमारको ढाडको हड्डी भाँचिएपछि उनी बाँकी खेल खेल्न नसक्ने भएका थिए। कोलम्बियाका खेलाडीको घुँडाले नेमारको ढाडमा लागेको थियो। उनको टोली पनि विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै सेमिफाइनलबाटै बाहिरिएको थियो।

घाइते हुनुअघि उनले घरेलु मैदानमा आयोजित विश्वकपमा खेलेका पाँच खेलमा चार गोल गरेका थिए। उनी घाइते हुनुअघि ब्राजिललाई उपाधिका दाबेदार मानिएको थियो। सेमिफाइनलमा घरेलु टोलीका लागि नेमारको अनुपस्थिति महँगो बनेको थियो। उक्त खेलमा जर्मनीले ब्राजिललाई ७-१ गोलले हराएको थियो।

जापानमा बुधबार राति आयोजित पत्रकारसम्मेलनमा नेमार स्वस्थ खेलाडी सरह प्रस्तुत भए। उनले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको संकेत दिन शारीरिक हाउभाउले पनि सक्दो प्रयास गरेका थिए। जापानमा उनले सिरक कम्पनीको विज्ञापन खेल्ने जनाइएको छ। टोकियोको हानेदा विमानस्थलमा उत्रिएलगत्तै नेमारलाई करिब सात सय समर्थकले स्वागत गरेका थिए।

ब्राजिलियन क्लब सान्तोसमा चार वर्ष खेलेर चर्चा कमाएका नेमार सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका थिए। गत सिजनमा भने बार्सिलोनामा उनको प्रदर्शन उल्लेख्य रहेन। ला लिगाको आगामी सिजन अगस्त २४ तारिखबाट सुरु हुँदै छ। प्रतियोगिताको पहिलो दिन नेमारको क्लब बार्सिलोनाले एल्चेको सामना गर्नेछ। गत सिजनमा उपाधि जित्न नसकेको बार्सिलोना अहिले गुमेको साख फर्काउने योजनामा छ।

Comments

Popular Posts