विश्वकप रुसबाट सार्ने माग फिफाद्वारा अस्वीकार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१८ को विश्वकप रुसबाट अन्यत्र सार्ने मागलाई प्रतियोगिताले सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउँदै अस्वीकार गरेको छ।
गत साता युक्रेनमा मलेसियन एयरलाइन्सको विमान आक्रमणमा रुसको हात रहेको आरोप लगाइएको बेला जर्मनीका केही सांसद सदस्यले रुसको विश्वकप आयोजना अधिकार विषयमा पुनर्विचार गर्नुपर्ने माग राखेका थिए।
शुक्रबार फिफाले कुनै पनि स्वरुपको हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताउँदै विश्वकपका विषयमा पनि शान्तिपूर्ण र प्रजातान्त्रिक छलफललाई मात्र मह महत्त्व दिने प्रष्ट पारेको छ। ‘समस्या समाधानका लागि कुनै पनि खेल प्रतियोगिता बहिष्कार गर्ने, त्यसमा विवाद गर्ने वा त्यसलाई कुनामा च्याप्ने जस्ता काम फलदायी नहुने इतिहासले प्रमाणित गरिसकेको छ,' फिफाले विज्ञप्तिमार्फत भनेको छ।
साथै फिफाले विज्ञप्तिमा विश्वकपका कारण उत्पन्न हुने विश्वव्यापी चासो रुसको समस्या समाधानमा सरकार र जनताबीच छलफल गराउने माध्यम बन्न सक्ने आशा गरेको छ।
ब्राजिलमा विश्वकप सम्पन्न भएसँगै युक्रेन र रुसी पृथक्तावादी विद्रोहीको गतिविधि बढ्न थालेको छ। जुलाई १३ मा रियो द जेनेरियोमा विश्वकपको आयोजना अधिकार हस्तान्तरण समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिली समकक्षी डिल्मा रौसेफ र फिफा अध्यक्ष सेप ब्लाटरसँग ४ वर्षपछि भव्य र सुरक्षित विश्वकप गर्ने वाचा गरेका थिए।
फिफाको कार्यसमितिमा रुसका खेलकुदमन्त्री भिटाली मुट्को पनि छन्। ‘२०१८ मा हुने फिफा विश्वकपले रुसको दृश्य परिवर्तनमा ठूलो योगदान गर्ने फिफाले विश्वास लिएको छ,' फिफाले भनेको छ, ‘विश्वकपले सकारात्मक परिवर्तनका लागि सबैलाई बाध्य पार्नेछ।'
ब्लाटरले यसअघि नै फिफा कार्यसमितिले मतदानमार्फत रुसलाई आयोजना अधिकार दिएको बताउँदै फिर्ता नलिने प्रस्ट पारिसकेका छन्। ‘हामी आफ्नो निर्णय कार्यान्वयन गराउने बाहेक अरु विषयमा सोच्न पनि सक्दैनौं,' मार्चमा रुस र कतारबाट विश्वकप आयोजना अधिकार खोस्नुपर्ने माग चर्को रूपमा उठ्दा ब्लाटरले भनेका थिए, ‘राजनीतिज्ञहरूले चाहेअनुसार फुटबल चल्दैन। कुनै अवस्थामा आयोजनास्थल सार्नुपरे पनि त्यसको अधिकार फिफाको कार्यसमितिलाई मात्र छ।'

Comments

Popular Posts