पान बेच्दै महिला फुटबलर

रस्मिता पत्राले एएफसी महिला यू १६ छनोट फुटबल प्रतियोगितामा भारतीय टोलीको प्रतिनिधित्व गरेकी थिइन्। उनले सिनियरतर्फ पनि राष्ट्रिय टोलीबाट एफसी प्रतियोगिताको छनोट खेलिन्। बहराइनसँग भएका तीनवटा अन्तर्राष्ट्रिय खेलको शृंखलामा पनि उनी भारतीय टोलीमा थिइन्।
तीन वर्षअघिसम्म यो उचाइमा रहेकी पत्रा अहिले भने गुमनाम जीवन बिताइरहेकी छन्। उनी उडिसाको केन्द्रपारामा पान पसल चलाएर जीवन बिताइरहेकी छन्। सन् २०११ मा खेलस्तर खस्कन थालेपछि पत्राले राष्ट्रिय टोलीमा ठाउँ पाउन छाडिन्। त्यसपछि उनलाई कसैले वास्ता पनि गरेन।
गत वर्ष उनले स्थानीय माझीसँग विवाह गरिन्। तर श्रीमान्को आयस्तर राम्रो छैन। त्यसैले परिवारको आर्थिक भार थेग्न उनले पान पसल चलाउने निर्णय लिएकी हुन्। 'फुटबलले मलाई नाम र प्रतिष्ठा दियो तर त्यही फुटबल राम्रोसँग जीवन बाँच्ने सहारा बन्न सकेन', पत्रा अचेल पान पसलमा बसेर जिज्ञासा राख्नेसँग भन्ने गर्छिन्।
राष्ट्रिय टोलीबाट निकालिएपछि जागिरका लागि धेरै प्रयास गरे पनि भेट्न नसकेको उनी बताउँछिन्। उनले उडिसा राज्यबाट फुटबल खेलेर स्वर्णपदक पनि जितेकी थिइन्। भारतको महिला राष्ट्रिय फुटबल टोलीकी फर्वाड आलोचना सेनापतिले पत्राको अवस्था सुनेर दु:ख लागेको बताइन्।

Comments

Popular Posts