'प्ले फर नेयमर'
आफ्ना स्टार स्ट्राइकर नेयमरलाई चोटका कारण गुमाएपछि शनिबार ब्राजिलका सम्पूर्ण फुटबल समर्थक निराश थिए । ब्राजिलको चर्चित पत्रिकाले पहिलो पृष्ठमा कोलम्बियाविरुद्धको २-१ को जितमा नेयमर मैदानमा लडेको तस्बिर राख्दै छापेको थियो । जहाँ नेयमर पीडाका कारण रोइरहेका थिए ।
घरेलु टिम ब्राजिलले देशलाई छैटौं पटक विश्वकपको उपाधि दिलाउने अभियानमा नेयमरलाई मुख्य नायकका रूपमा मानेको थियो । चर्चित खेलकुद पत्रिका लान्सको पहिलो पृष्ठमा देखिएको छ,'प्ले फर हिम' । अर्थात् उनी (नेयमर) का लागि खेल । लान्सको अनलाइन संस्करणमा लेखिएको छ,'द सिक्स टाइटल विल बि फर हिम !' । अर्थात् छैटौं उपाधि उनी (नेयमर) का लागि हुनेछ । ब्राजिलको ठूलो पत्रिका फोल्हा डी एस पाउलोले आफ्नो हेडलाइनमा लेखेको छ,'विथ आउट हिम, क्यान इट बि ?' अर्थात् उनी (नेयमर) बिना यो सम्भव छ ?
ब्राजिलले यस्तै परिस्थिति अघिल्ला विश्वकपमा पनि सामना गरिसकेको छ । सन् १९६२ को विश्वकप चिलीमा भएको थियो । त्यो विश्वकपको दोस्रो खेलपछि पेले घाइते भए । तर प्रतियोगिताको उपाधि ब्राजिलले नै जित्यो । २२ वर्षीय अमारिल्डोले पेलेको भूमिका राम्रोसँग निर्वाह गरेका थिए । त्यो घटनाले ब्राजिलमा छाएको निराशापनमा मल्हम लगाउने काम गरेको थियो । 'त्यो समय हामीसँग पेले थिए । उनी युनिक थिए । उनलाई कसैले पनि रिप्लेस गर्न सक्दैन भन्ने थियो,' अमारिल्डोले ईएसपीएन ब्राजिल रेडियोसँग भने,'समस्या धेरै देखिएको थियो । तर हामी सबै टिमलाई पछि छाड्न सफल भयौं ।' अमारिल्डोले नेयमरको स्थानमा खेलाउने खेलाडी अहिलेको विश्वकप टिममा छनोट नगरिएको बताए । 'हामीसँग नेयमर जस्तो अर्को खेलाडी छैन । रोबिन्होलाई बोलाएको भए राम्रो हुने थियो,' उनले भने,'रोबिन्होको पनि खेल्ने शैली नेयमरको जस्तो छ । उनले खेलेको भए टिमले खेल्ने शैली परिवर्तन गर्नु पर्दैनथ्यो ।' ब्राजिलका एक खेल कमेन्टेटरले आफ्नो कोलममा 'इमपोसिबल ?' भन्दै लेखेका छन् । किनकि मंगलबार सेमिफाइनलमा ब्राजिलले बलियो टिम जर्मनीको सामना गर्नेछ ।
नेयमर बाहिरिएका छन् र कप्तान थियागो सिल्भा प्रतिबन्धका कारण खेल्न पाउने छैनन् । उनले दोहोरो पहेंलो कार्ड बेहोरेका हुन् । उनले लेखेका छन्,'जर्मनी जित्न लायक टिममात्र होइन, उसैले जित्नेछ ।' उनले लेखेका छन्,'अब धेरैजना ब्राजिल सेमिफाइनलबाट अघि जाँदैन भन्दै निराश हुन थालेका छन् । जर्मनीलाई हराएर फाइनल पुग्न अब केही मिथ नै हुनुपर्छ ।' उनले मिथ हुन्छ भन्ने आशा पनि व्यक्त गरेका छन् ।
साओ पाउलोस्थित एक रेस्टुराँका ३० वर्षीया म्यानेजरले ब्राजिललाई समस्या परेका बेलामा सधैं केही न केही रूपमा समाधान गर्ने बाटो भएको उल्लेख गर्दै भने,'यो पटक पनि त्यस्तो केही हुन सक्छ ।'
Comments
Post a Comment