विमल बेल्जियम लागे

राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर शनिबार बेल्जियम गएका छन्। यु–१६ टोलीका कप्तान विमल बेल्जियन क्लब एन्डरलेकसँग आबद्ध भएका छन्। उनीसँग क्लबको एकवर्षे सम्झौता छ।
सम्झौताअनुसार विमलले एन्डरलेकको एकेडेमीमा निःशुल्क प्रशिक्षण गर्न पाउने छन्। दुई महिना एन्डरलेकको विशेष प्रशिक्षण र अभ्यास खेल खेलेर फर्किएका विमलले जेठ २५ मा क्लबले सम्झौता गरेको जानकारी पाएका थिए।
एन्डरलेक पुर्यााउन सहयोग गरेका प्रशिक्षक कोस्टरमार्फत उनले सम्झौताको खबर पाएका थिए। बंगलादेशका तत्कालीन सहायक प्रशिक्षकका रूपमा नेपाल आउँदा डच नागरिक कोस्टरले साफ च्याम्पियनसिपमा विमलको खेल देखेका थिए।
एएफसी यु–१६ च्याम्पियनसिपको तयारीमा रहेको युवा टोली अगस्ट पहिलो साता अभ्यास र प्रशिक्षणका लागि बेल्जियम जाँदैछ। विमल पनि टोलीसँगै बेल्जियम जाने तयारीमा थिए। तर क्लबले आन्तरिक प्रशिक्षणमा बोलाएका कारण विमल शनिबारै बेल्जियम गएको यु–१६ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। उनले भने, 'विमल टोलीका कप्तान हुन्। टोलीमै रहेर प्रशिक्षण गर्दा टिम समन्वय राम्रो बन्दै जान्थ्यो। तर विमल बेल्जियम जाँदा पनि हामीलाई घाटा भने छैन। किनकि उनी युरोपको राम्रो क्लबमा प्रशिक्षण गर्न जाँदैछन्। उनको अनुभवले हामीलाई थप राम्रो र बलियो टोली निमार्णमा सहयोग पुग्नेछ।'
दुई महिना बेल्जियममा प्रशिक्षण गरेर फर्कदा विमलको स्तर राम्रो भएको महर्जनको ठम्याई छ। 'अबको प्रशिक्षणले झन् एएफसी यु–१६ च्याम्पियनसिपलाई राम्रो गर्ने विश्वास छ,' उनको विमलप्रति विश्वास थियो।
विमल युरोपियन क्लबमा एक वर्षका लागि अनुबन्धित हुने पहिलो नेपाली हुन्। एन्डरलेकअघि विमल कोस्टरकै पहलमा नेदरल्यान्ड्सको एफसी ट्वेन्टेमा दुई साता विशेष प्रशिक्षण तथा ट्रायल दिएर फर्केका थिए।
एन्डरलेकको यु–१७ टोलीका लागि अनुबन्धित विमलले ट्रायलक्रममा युरोपकै प्रतिष्ठित फ्युचर कपमा टर्किस टोली फेनेरवाचविरुद्ध एक गोल गरेका थिए।
विमलले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलबाट १५ वर्षमै राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका हुन्। गत वर्ष काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा वैकल्पिक खेलाडीको जर्सीमा रहेर बराबरी गोल गरेपछि नेपाल सेमिफाइनल पुगेको थियो। विमलको नेतृत्वमा गत वर्ष नै घरेलु मैदानमा नेपाल साफ यु–१६ च्याम्पियनसिपको फाइनल पुग्यो। भुटानविरुद्ध ह्याट्रिक गरेका विमलले प्रतियोगितामा कुल ६ गोल गरेका थिए।
नेपाल यु–१६ साफ च्याम्पियनसिपको फाइनल चरण पुग्दा विमलले महत्वपूर्ण भूमिका खेले। उच्च प्रदर्शन गरेका कप्तान विमलले तुर्कमेनिस्तानविरुद्ध ह्याटि्रक गरेका थिए। च्याम्पियनसिपमा छानिने नेपाल एक्लो दक्षिण एसियाली टोली हो।

Comments

Popular Posts