भान पर्सी अस्वस्थ, अर्जेन्टिनासँगको म्याच गुमाउन सक्ने
अर्जेन्टिनासँग विश्वकप सेमिफाइनल खेल्ने तयारीमा रहेको नेदरल्यान्ड्स टोलीका स्ट्राइकर रोबिन भान पर्सी खेल सुरु हुन केही घन्टा बाँकी रहँदा अस्वस्थ भएका छन्। पेट दुःखाइका कारण उनले अर्जेन्टिनासँगको खेल गुमाउन सक्ने अन्तरार्ष्ट्रिय मिडियाहरुले जनाएका छन्। 'पेटको बिरामीका कारण नेदरल्यान्ड्स टोलीका स्ट्राइकर रोबिन भान पर्सीले विश्वकप सेमिफाइनल म्याच गुमाउन सक्ने', बीबीसीले लेखेको छ।
नेदरल्यान्ड्सलाई दुई पटकको विश्वविजेता अर्जेन्टिनासँग साओ पाउलोस्थित कोरेन्थियन्स एरिनामा उत्रँदा म्याचेस्टर युनाइटेडका फरवार्डको उपस्थिति महत्वपूर्ण मानिएको छ। उनको अनुपस्थितिले पहिलो पटक विश्वकप च्याम्पियन बन्न संघर्ष गरिरहेको डच टोलीलाई ठूलो धक्का पुग्नेछ।
समूह चरणको खेलमा स्पेनलाई ५-१ ले हराउँदा २ गोलको योगदान गरेका उनले जारी विश्वकपमा कूल ३ गोल गरेका छन्।
Comments
Post a Comment