एन्फा अध्यक्ष गणेश थापा अप्ठेरोमा, संसदीय समितिले माग्यो आर्थिक हिसाब
मनोज सत्याल
समितिको निर्देशनपछि एन्फा अध्यक्ष गणेश थापाको अप्ठेरो बढेको छ। समितिको बैठकमा सभासद्हरुले एन्फामा भएको भनिएको आर्थिक अनियमितताबारे संसदीय छानबिन समितिको माग समेत गरेका छन्।
एन्फामा करोडौँ घोटाला भएको भन्दै पदाधिकारीहरुलाई कारबाही माग गर्दै एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धर तथा केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ्गले समितिमा उजुरी गरेका थिए।
उजुरीमा अध्यक्ष थापाले नेपालको नाममा आएको रकम ‘आफ्नै जस्तो गरी मनलागी खाने गरेको’ आरोप छ। साथै उनीहरुले अध्यक्ष थापाले आफू रहे एन्फा रहने अन्यथा एन्फा नरहने गफ दिने गरेको उल्लेख गर्दै नेपाली फुटबल विकासतर्फ नभई विनाश तर्फ लागेको आरोप लगाएका छन्।
के छ उजुरीमा?
एन्फाकै पदाधिकारीले दिएको उजुरीमा एन्फा अध्यक्ष गणेश थापाका छोरा एएफसीमा कार्यरत गौरव थापाको खातामा एक लाख डलर रकम जम्मा गर्दा तत्कालीन एएफसी अध्यक्ष मोहम्मद बिन हमाम र गणेश थापाको फरक-फरक धारणा आएको उल्लेख छ।
त्यस्तै उजुरीमा खेलकुद परिषद्ले एक लाख डलरबारे स्पष्टिकरण सोधे लगत्तै एन्फाको खातामा ८ करोड रकम जम्मा भएको र उक्त रकमको श्रोत नखुलाइएको उल्लेख छ। अन्य आरोपहरुमा :
• एन्फाले गाडी लगायतका सामाग्री खरिद गर्दा निर्णय नगरिएको तथा ब्यक्तिगत प्रयोजनमा खर्च गरिएको।
• सन् २००१ देखि २०१२ सम्ममा फिफाबाट गोल प्राजेक्टका लागि १९ लाख डलर आएको तर एन्फाको लेखापरीक्षणमा सो विषय उल्लेख नगरिएको।
• एन्फाको विधान अनुरुपको लेखा समिति, आर्थिक समिति लगायतका समितिहरु गठन नगरिएको।
• गणेश थापाले घरको नम्बरलाई एन्फाको भन्दै एएफसी र फिफामा जानकारी गराएको। विदेशी प्रशिक्षकलाई आफ्नै फ्ल्याटमा राखेको।
• प्रशिक्षक, महिला कर्मचारी र टेक्निकल डाइरेक्टरहरुलाई आएको रकम पारदर्शी ढंगले वितरण नगरिएको, प्रशिक्षकलाई १० हजार डलर, महिला कर्मचारीलाई ५ सय डलर र टेक्निकल डाइरेक्टरका लागि १५ सय डलर प्राप्त भए पनि त्यस अनुरुप खर्च नदेखाइएको।
राप्रपा नेपाल र राप्रपाद्वारा थापाको बचाउ
एन्फा र अध्यक्ष गणेश थापाको विरुद्धमा उजुरीका विषयमा समितिको छलफलमा राप्रपा र राप्रपा नेपालका सभासद्ले गणेश थापाको पक्षमा धारणा राखे। राप्रपा नेपालका अध्यक्ष कमल थापा एन्फा अध्यक्ष गणेश थापाका सहोदर दाजु हुन्।
उनीहरुले एन्फा अध्यक्ष गणेश थापा राष्ट्रिय ब्यक्तित्व भएको भन्दै छानबिनमा संवेदनशिलता अपनाउनुपर्ने बताए। अख्तियार र खेलकुद मन्त्रालयले छानविन गरिरहेकाले लेखा समितिले दोहोरो छानविन गर्नु नपर्ने धारणा उनीहरुको थियो।
राप्रपाका सभासद् दीपक बोहोराले अख्तियार र मन्त्रालयको छानबिन जारी रहेकाले संसदीय छानविन तत्कालका लागि स्थगित गर्न माग गरे।
राप्रपा नेपालका सभासद् भाष्कर भद्राले गणेश थापाको प्रोफाइल पढेर सुनाउँदै छानविनमा संवेदनशिलता अपनाउनुपर्ने बताए। राप्रपा नेपालकै दिनेश श्रेष्ठले थापाको घटनालाई सामान्यिकरण प्रयास गर्दै भ्रष्टाचार कुन-कुन ठाउँमा भएको खोजेर हिँड्नुपर्ने बेला उजुरीमा मात्र समिति केन्द्रित हुन नहुने बताए। उनले चमलेलिया जलविद्युत आयोजना लगायतमा समिति केन्द्रित हुनुपर्ने धारणा राखे।
के भन्छन् अन्य सभासद्?
नेपाली जनता दलका हरिचरण शाहले कुरा मिल्दासम्म उजुरीकर्ता र एन्फाका अध्यक्ष चुप लागेको देखिएको तर कुरा नमिलेपछि समितिमा उजुरी गरेको देखिएको बताए।
नेपाली काँग्रेसका रामहरी खतिवडाले राप्रपा सभासद् दीपक बोहोरालाई लक्षित गर्दै बोहोराले आफूसँगको भेटमा गणेश थापाको घटनामा अलिक अप्ठेरो छ भनेको समितिमा बताए। उनले यदि गणेश थापाले भोट हाल्न कै लागि डलर लिएको भए त्यो राष्ट्रिय बेइज्जतीको विषय भएको बताए। देशको भोटको मूल्य एक लाख डलर कायम गरेर बेइज्जत गर्ने काम भएको उनको कथन थियो। ‘राष्ट्रिय ब्यक्तित्व भन्दैमा छानविन गर्न नमिल्ने तर्क जायज छैन,’ उनले भने।
सन् २०२२ को विश्वकप आयोजनाका लागि भएको मतदानमा कतारको पक्षमा भोट दिन थापाले एसियाली फुटबल महासंघ (एएफसी) का निलम्बित पूर्व अध्यक्ष मोहम्मद बिन हमामसँग झन्डै डलर लिएको बेलायतबाट प्रकाशित हुने सन्डे टाइम्सले उल्लेख गरेको थियो।
खतिवडाले फिफाको ५० औँ बैठकमा एन्फा अध्यक्ष थापाले श्रीमति हजुरी थापालाई लिएर गएको उल्लेख गर्दै पदको दुरुपयोग गरेको बताए।
नेपाली कांग्रेसका हरिप्रसाद नेपालले गणेश थापा र एन्फा सार्वजनिक महत्वको विषय भएको, उनीहरुको पनि चर्चा ठूलो रहेको उल्लेख गर्दै चलखेल पनि ठूलै रहेको हुनसक्ने आशंका ब्यक्त गरे।
उनले बहालवाला प्रधानमन्त्रीले समेत सार्वजनिक लेखा समितिमा आएर जवाफ दिएको विगत रहेकाले गणेश थापालाई बोलाउँदैमा कुनै अपमान नहुने धारणा राखे।
काँग्रेसका धनराज गुरुङले एन्फा लापरवाही ढंगबाट चलेको र आर्थिक हरहिसाबमा चलखेल भएको उल्लेख गर्दै छानविन उपसमिति गठन गनुपर्ने माग गरे।
उनले पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दामा छोरा र भाञ्जा समेतको भ्रष्टाचारका सवालमा सर्वोच्चले सम्पति रोक्का गरेको उदाहरण दिदैँ गणेश थापाको छोराको समेत सम्पति विवरण अध्ययन गनुपर्ने जिकिर गरे।
एकीकृत नेकपा माओवादीका टोपबहादुर रायमाझीले एन्फाको लेखापरीक्षण प्रतिवेन तथा आर्थिक हरहिसाबको कागजात मगाएर अध्ययन गनुपर्ने र पछि उजुरीकर्तालाई बोलाएर सोधपुछ गनुपर्ने धारणा राखे।
Comments
Post a Comment