विश्वकप खेलेर घर फर्किएको नाइजेरिया फिफाको निलम्बनमा
विश्वकप खेलेर घर फर्किए लगत्तै नाइजेरियालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निलम्बन गरेको छ । नाइजेरियाको फुटबल संघमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै फिफाले नाइजेरियालाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गरेको हो । यो निलम्बनपछि नाइजेरिया तथा नाइजेरियाका कुनै पनि क्लवले अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैनन् । नाइजेरियाको फुटबल संघ र संघका पदाधिकारीले निर्धक भएर काम गर्ने वातावरण तयार भए तत्काल निलम्बन फुकुवा गर्ने फिफाले जनाएको छ ।
विश्वकप फुटबलको प्रिक्वाटर फाइनलमा नाइजेरिया फ्रान्ससँग पराजित हुँदै घर फर्किएको थियो । त्यहि बेला एक स्थानीय अदालतले फुटबल संघ विघटन गरी नयाँ कार्यसमिति गठन गर्न निर्देशन दिएको थियो । अदालतको आदेश अनुसार गत शनिबार नाइजेरियाको राजधानी अबुजामा संघका नयाँ कायसमितिको चुनाव भएको थियो र ब्राजिलबाट फर्किएका संघका अधिकारीलाई पक्राउ गरिएको थियो । फिफाले भने पहिलेको संघ नै आधिकारिक रहेको भन्दै पछि गरिएको चुनाव नियमविपरित रहेको जनाएको छ । चुनाव गर्ने निर्णय लगत्तै फिफाले चुनाव नगर्न भन्दै नयाँ पदाधिकारी चयन गरेमा निलम्बन गर्ने चेतावनी दिएको थियो ।
Comments
Post a Comment