नेमारको चोटमा रमाए अर्जेन्टिनी

विश्‍व फुटबलमा अर्जेन्टिना र ब्राजिल एकअर्काका चिर प्रतिद्वन्द्वी हुन्। एकले अर्काको प्रगति देखिसहँदैनन्। यी दुवै टोलीका समर्थकसमेत चाँडोभन्दा चाँडो आफ्नो प्रतिद्वन्द्वी प्रतियोगिताबाट बाहिरियोस् भन्ने कामना पनि गर्छन्।
ब्राजिलका स्टार स्ट्राइकर नेमार घाइते भएर विश्‍वकपका बाँकी खेलमा खेल्न नसक्ने भएपछि अर्जेन्टिनाका समर्थकले अचम्मको व्यवहार देखाएका छन्। नेमारले खेल्न नसक्ने भएको खबर बाहिर आएलगत्तै अर्जेन्टिनी समर्थकले मेरुदण्डको आकृति भएका सामान उचालेर खुसियाली मनाएका छन्। नेमार मेरुदण्डको हड्डी भाँचिएपछि खेल्न नसक्ने स्थितिमा पुगेका हुन्। नेमार विश्वकपका बाँकी खेलबाट बाहिरिएपछि अर्जेन्टिनी समर्थकले विभिन्न सामाजिक सञ्जालमार्फत पनि खुसी व्यक्त गरेका छन्।
नेमारको चोटप्रति अर्जेन्टिनाका कप्तान लियोनल मेसी र प्रशिक्षक अलेजान्द्रो साबेलाले भने दु:ख व्यक्त गरेका छन्। ब्राजिलका राष्ट्रपति, विभिन्न देशका वर्तमान तथा पूर्वखेलाडीले पनि उनीप्रति सहानुभूति व्यक्त गरिसकेका छन्। आफ्नो प्रहारले नेमार घाइते भएपछि जुनिगाले भने उनीसँग माफी मागेका छन्। जुनिगाले नेमारलाई जानीजानी घाइते बनाएका हुन् कि होइनन् भनेर फिफाले अहिले अनुसन्धान गरिरहेको छ।

Comments

Popular Posts