कमल र दिनेशको राष्ट्रिय कीर्तिमान
कमलबहादुर अधिकारी र दिनेश श्रेष्ठले तेस्रो ग्राँ पि सिनियर पुरुष/महिला तथा जुनियर पुरुष भारोत्तोलनको सिनियरतर्फ बुधबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाली सेनाका उनीहरूले स्न्याचमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।
नख्खुस्थित सहकारी कृषि बजारमा भएको पुरुषको ६९ केजीको स्न्याचमा कमलले १ सय १८ केजी भार बहन गर्दै कीर्तिमान बनाएका हुन् । उनकै नाममा १ सय १७ केजीको कीर्तिमान थियो । कमलले क्लिन एन्ड जर्कमा १ सय ४५ केजी गरी २ सय ६३ केजी उचाल्दै स्वर्ण जिते ।
पुरुषको ९४ केजीको स्न्याचमा कीर्तिमान रचेका दिनेशले १ सय १३ केजी वजन उठाए । यसअघि १ सय १२ केजीको कीर्तिमान दिनेशकै नाममा थियो । उनले क्लिन एन्ड जर्कमा १ सय ४० गरी जम्मा २ सय ५३ केजी भार उचाल्दै पहिलो भए । कमल र दिनेश दुवैले १७ औं एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगितामा कीर्तिमान राखेका थिए ।
नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रामेछापका गोपाल श्रेष्ठ र महिलामा नेपाल प्रहरी क्लबकी तारादेवी पुन स्ट्रोङगेस्ट चुनिए । पुरुषको १ सय ५ केजीमाथिको स्न्याचमा गोपालले १ सय १२ र क्लिन एन्ड जर्कमा १ सय ५२ गरी कुल २ सय ६४ केजी भार उठाउँदै पहिलो भएका थिए । स्न्याचमा ६५ र क्लिन एन्ड जर्कमा ९० गरी कुल १ सय ५५ केजी भार उचालेकी तारा महिलाको ७५ केजीमाथि वजन समूहमा पहिलो भएकी थिइन् ।
पुरुषमा कमलबहादुर अधिकारी र महिलामा प्रहरीकी उत्तम खत्री उत्कृष्ट लिफ्टर चुनिए । उत्तम महिलाको ६३ केजीको स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७८ गरी कुल १ सय ४१ केजी भार बहन गर्दै पहिलो भएकी थिइन् । जुनियर पुरुषमा बाँकेका प्रकाश केसी उत्कृष्ट लिफ्टर ठहरिए । अघिल्लो दिन उनले जुनियर ५६ केजीको क्लिन एन्ड जर्कमा १ सय १० र कुलमा १ सय ९३ भार उचाल्दै कीर्तिमानी स्वर्ण हात पारेका थिए । उनी सिनियरमा पनि त्यही तौल समूहमा पहिलो भएका थिए ।
Comments
Post a Comment