दुवै टोली इतिहास कोर्न आतुर

चोटग्रस्त खेलाडीसम्मिलित लियोनल मेसीको अर्जेन्टिना र आर्येन रोबेनको नेदरल्यान्ड्स बिहीबार साओ पाउलोस्थित कोरेन्थियन्स एरिनामा विश्वकपको फाइनल पुग्न भिड्दै छन्।
पछिल्लोपल्ट सन् १९९० मा फाइनल पुगेको अर्जेन्टिना नदेरल्यान्ड्सलाई हराउँदै देशका पूर्व महान खेलाडी अल्फ्रेडो डी स्टेफानोलाई श्रद्धान्जली दिन चाहन्छ। ८८ वर्षमा स्टेफानोको सोमबार निधन भएको थियो। उनले अर्जेन्टिना र स्पेन दुवै राष्ट्रबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए।
अर्कोतिर नेदरल्यान्ड्स समूह चरणदेखि उच्च प्रदर्शनसाथ आफूलाई दाबेबार प्रमाणित गर्दै अन्तिम ४ सम्म पुगेको हो। नेदरल्यान्ड्स अहिलेसम्मकै ठूलो सफलताको सम्भावना जीवित बनाउन अर्जेन्टिनालाई पन्छाउन चाहन्छ। १९७४, १९७८ र २०१० मा फाइनल पुगेर पनि उपाधि उचाल्नबाट विमुख डच टोली यसपटक इतिहास रच्ने प्रयासमा छ।
'सेमिफाइनल उत्कृष्ट हुनेछ। विश्वकपको फाइनलमा हार्नुको पीडा हामीलाई थाहा छ। त्यसैले हामी जित्न चाहन्छौं,' नेदरल्यान्ड्सका प्रभावकारी खेलाडी डर्क काउटले भने, 'अर्जेन्टिना विश्वस्तरीय टोली हो। अन्तिम ४ का लागि उनीहरू हकदार छन्। तर हामी उत्कृष्ट टोलीलाई हराए थप उत्कृष्ट हुन चाहन्छौं। त्यही कारण हामी यहाँ छौं।'
नेदरल्यान्ड्स दोस्रोपटक फाइनल (१९७८) मा अर्जेन्टिनासँग ३–१ ले पराजित भयो। अर्जेन्टिनासँग इतिहासमा नेदरल्यान्ड्स बलियाे छ। अर्जेन्टिनासँग अहिलेसम्म आठपल्टको भेटमा नेदरल्यान्ड्सले चारपटक जित पाएको छ। १९९८ को विश्वकप क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई २–१ ले हराएको थियो। अन्तिम मिनेटमा डेनिस बर्गक्याम्पले गोल गरेपछि नेदरल्यान्ड्स विजयी भएको हो।
पछिल्ला दुवै विश्वकप मेसीका लागि बिर्सनलायक रहे। दुवैपटक उनको टोली क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन। अहिले उच्च फर्ममा रहेका मेसीकै प्ररेणादायी प्रदर्शनमा अर्जेन्टिना २४ वर्षपछि सेमिफाइनल खेल्दैछ।
डचका खतरनाक खेलाडी रोबेन पनि मेसीजत्तिकै फर्ममा छन्। हरेक खेलमा महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यस्तो अवस्थामा अर्जेन्टिनालाई हराउन पनि सबैभन्दा ठूलो जिम्मेवारी उनकै काँधमा हुनेछ।'
साविक विजेता स्पेनलाई ५–१ ले हराउँदै विश्वकपमा सनसनीपूर्ण सुरआत गर्नका बाबजुद नेदरल्यान्ड्सले सेमिफाइनलमा स्थान सुरक्षित गर्न भने पेनाल्टीसम्म कुर्नुपरेको थियो। कोस्टारिकालाई ४–३ ले हराएर नेदरल्यान्ड्स सेमिफाइनल पुगेको हो। प्रशिक्षक लुइस भान हालले पेनाल्टी सुटआउटका लागि वैकल्पिक गोलकिपर टिम क्रुललाई उतार्दा त्यसको फाइदा टोलीलाई पुग्यो। अतिरिक्त समयको अन्तिम केही सेकेन्ड बाँकी हुँदा पोस्ट सम्हालेका क्रुलले कोस्टारिकाका दुई खेलाडी पेनाल्टी रोकेका थिए।
विश्वकपपछि म्यानचेस्टर युनाइटेड सम्हाल्ने तयारीमा रहेका भान हालले पछिल्ला ५ मध्ये ३ खेलमा तीन खेलाडी रक्षापंक्तिमा उतारेका थिए। अर्जेन्टिनाविरुद्ध भने उनले रणनीति केही परिवर्तन गर्ने सम्भावना छ।
सेन्टरब्याक रोन भ्लार घँुडाको चोटका कारण खेल्नेमा दुविधा छन्। त्यसैले जोल भेल्टम्यान सेन्टर डिफेन्समा खेल्ने सम्भावना छ भने उनलाई ब्रुनो मार्टिस इन्डी र स्टेफान डी भि्रजले साथ दिनेछन्। अर्जेन्टिनासँग नदेरल्यान्ड्सका चार खेलाडी रक्षापंक्तिमा रहन सक्छन्।
अलेहान्द्रो साबेलाको अर्जेन्टिनी टोलीमा चोटका कारण मिडफिल्डर एन्जेल डी मारिया र प्रतिबन्धका कारण लेफ्ट ब्याक मार्कोस रोजो हुने छैनन्। गोन्जालो हिग्विनको गोलमा बेल्जियमलाई १–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेको हो। हिग्विनको गोलले अर्जेन्टिना मेसीमै निर्भर नरहेको प्रमाणित गरे पनि टोलीका मिडफिल्डर हाभियर मास्केरानो सेमिफाइनल सहज नहुने बताउँछन्।
'हामी त्यस्तो टोलीविरुद्ध खेल्दैछौं। त्यो टोली काउन्टर एट्याकमा उत्कृष्ट छ। उनीहरूको आक्रमणमा तीब्रता पनि त्यत्तिकै छ,' बार्सिलोनाका उनले भने, 'त्यसैले हामीले अनावश्यक बल फुत्काउन हुन्न। खेलमा केन्द्रित हुनु आवश्यक छ। धैर्यताको पनि त्यत्तिकै खाँचो छ।'

नेदरल्यान्ड्स र अर्जेन्टिनाको तथ्यांक

नेदरल्यान्ड्स

क्वार्टरफाइनल

अतिरिक्त समयसम्म नेदरल्यान्डस ०, कोस्टारिका ०

(टाई–ब्रेकरमा नेदरल्यान्ड्स ४–३ ले विजयी)

अन्तिम १६

नेदरल्यान्ड्स २ (वेस्ले स्नाइडर, क्लास यान हन्टुलार), मेक्सिको १ (जियोभानी डस सान्तोष)

समूह चरण

नेदरल्यान्ड्स ५ (रोविन भान पर्सी (२ गोल), आर्येन रोबेन (२ गोल), स्टेफन डी भर्ज), स्पेन १ (जाभी अलोन्सो)

नेदरल्यान्डस ३ (आर्येन रोबेन, रोविन भान पर्सी, मेम्पि्कस डिफे), अस्ट्रेलिया २ (टिम काहिल, माइल जेदिनाक)

नेदरल्यान्ड्स २ (लेरोए फेर, मेम्पि्कस डिफे), चिली ०

विश्वकपमा उपविजेता : ३ (१९७४, १९७८, २०१०)

विश्वकपका उच्च गोलकर्ता : जोनी रेप (७ गोल)

अर्जेन्टिना

क्वार्टरफाइनल

अर्जेन्टिना १ (गोन्जालो हिग्विन), बेल्जियम ०

अन्तिम १६

अर्जेन्टिना १ (एन्जेल डी मारिया), स्विट्जरल्यान्ड ०

समूह चरण

अर्जेन्टिना २ (सिद कोलासिनाक (आत्मघाति गोल) लियोनेल मेसी) बोस्निया १ (भेदाद इबिसेभिक)

अर्जेन्टिना १ (लियोनेल मेसी), इरान ०

अर्जेन्टिना ३ (लियोनेल मेसी (२ गोल) मार्कोस रोजो) नाइजेरिया २ (अहमद मुसा (२ गोल)

विश्वकप उपाधि : २ (१९७८, १९८६)

उपविजेता : २ (१९३०, १९९०)

उच्च गोलकर्ता : ग्याब्रिअल बाटिस्टुटा (१० गोल)

Comments

Popular Posts