​एन्फालाई विशेष अधिवेशन नगर्न लेखा समितिको निर्देशन

संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटवल संघ एन्फालाई विशेष साधारण सभा तथा पदाधिकारीहरुको बैठक नबोलाउन निर्देशन दिएको छ । समितिको आजको बैठकले उजुरीकर्ताहरुलाई सफाइको मौका समेत नदिइ हटाउने नियतले विशेष साधारण सभा बोलाउने काम भएको र एन्फा नेतृत्वबिरुद्धको आर्थिक अनियमितिताको उजुरीको छानबिन समेत प्रभावितहुने भएकाले त्यस्ता गतिविधि नगर्न खेलकुद मन्त्रालय मार्फत् एन्फालाई निर्देशन दिएको छ । 
अघिल्लो बैठकले पछिल्ला पाँच वर्षको आर्थिक कारोबारको प्रतिवेदन सहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएपनि एन्फाले ढिलो गरी आजै मात्र प्रतिवेदन बुझाएको थियो । समिति सदस्य कंग्रेस सभाषद रामहरि खतिवडाले आर्थिक अनियमिततासँग जोडिएका कुराको छानबिन जारी रहेकाले त्यसलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न / नगराउन निर्देशन दिइएको जानकारी दिनुभयो । त्यस्तै विशेष साधारण सभा मार्फत् मौजुदा कार्यसमितिमा कुनै हेरफेर नगर्न समेत बैठकले एन्फालाई निर्देशन दिएको छ । 
एन्फाले विशेष अधिवेशन बोलाउने बारे निर्णय गर्न आगामी २० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ । एक चौथाई जिल्ला शाखाबाट विशेष अधिवेशनको माग भएकाले त्यसबारे निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाइएको एन्फा उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 
उपाध्यक्षहरु कर्माछिरिङ्ग शेर्पा, विजय नारायण मानन्धर र किशोर राई तथा केन्द्रीय सदस्य पंकज नेम्वाङ्गले एन्फामा चरम आर्थिक अनियमितता भएको भन्दै छानबिनका लागि लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । 

Comments

Popular Posts