नेइमार भन्छन्– मेसीले अब विश्वकप जित्नुपर्छ

फुटबलमा ब्राजिल र अर्जेन्टिनाबीच ठूलो कटुता छ। तर आफ्नो टोली फाइनल पुग्न नसकेपछि निराश ब्राजिलियन स्टार नेइमार यसपटक लियोनल मेसी र उनको अर्जेन्टिनालाई समर्थन गर्दै छन्। चारपटक वर्षका विश्व खेलाडी मेसीको टोलीले आइतबार जर्मनीसँग फाइनल खेल्दैछ। 
पत्रकार सम्मेलनमा भावुक प्रस्तुत भएका नेइमार ब्राजिलले जर्मनीविरुद्ध ७–१ को नतिजा सुम्पँदा टोलीमा थिएनन्। कोलम्बियाविरुद्धको क्वार्टरफाइनलमा मेरुदण्डको हाड भाँचिएपछि उनी खेल्न नसक्ने भएका छन्। बार्सिलोनामा सँगै खेल्दै आएका मेसी विश्वकप उपाधिका लागि हकदर भएको नेइमारले बताए।
'खेलकुदको इतिहासमा मेसीको महत्वपूर्ण स्थान छ। उनले फुटबलका सबै खाले उपाधि जितिसकेका छन्। अब विश्वकप पनि जित्नुपर्छ,' उनले भने, 'उनी मेरा साथी हुन्। मेरो क्लबका खेलाडी हुन्। म उनलाई शुभकामना दिन्छु।'
नेइमारले पत्रकार सम्मेलनमा पनि भावुक हुँदै आफ्नो चोटबारे सुनाए। कोलम्बियाका हुवान कामिल जुनिगासँग ठोक्किँदा उनको मेरुदण्डको हाड भाँच्चिएको थियो। चोट थप गहिरो हुन्थ्यो भने त्यसले नेइमारलाई पक्षघात हुने सम्मको खतरा थियो। 'धन्न भगवानको कृपाले चोट त्यति गहिरो भएन,' उनले भने, ' दुई सेन्टिमिटरमाथि मात्र पनि चोट लाग्थ्यो भने म ह्विलचियरमा बस्नुपर्ने हुन सक्थ्यो। त्यो साँच्चै कठिन हुनेथियो।'
आफ्नो खेलजीवनको महत्वपूर्ण समयमा चोटग्रस्त भएकामा उनले दुःख मनाउन गरे। 'म यो स्वीकार्न सक्दिनँ। जस्तो हिसाबले बलका लागि उनले चुनौती दिए त्यो स्वीकानै नसक्ने खालको थियो,' २२ बर्षे फरवार्डले भने। नेइमारले मेसी र उनको टोलीलाई शुभकामना दिए पनि ब्राजिलका अन्य खेलाडी भने अर्जेन्टिनाले जितोस् भन्ने चाहँदैनन्। अर्जेन्टिनाका हजारौ समर्थक फाइनल हेर्न ब्राजिल पुग्ने अनुमान गरिएको छ।

Comments

Popular Posts