'गोल्डेन बल' का सम्भावित विजेताहरू

विश्वकप फुटबलमा उत्कृष्ट खेलाडी को बन्ला भन्ने उत्सुकताबीच विश्व फुटबल महासंघ (फिफा) ले शनिबार १० जना सम्भावित खेलाडीको नाम सार्वजनिक गरेको छ। फाइन खेलअघि सार्वजनिक गरिएको गोल्डेन बल पाउने सम्भावित खेलाडीको सूचीमा अर्जेन्टिनाका तीन र जर्मनीका चारजना छन्।
यसैगरी कोलम्बिया, ब्राजिल र नेदरल्यान्ड्सका एकएकजना खेलाडी सूचीमा परेका छन्। अर्जेन्टिनाका एन्जल डी मारिया, लियोनल मेसी र जाभियर मास्केरानो सूचीमा परेका छन्। फाइनलमा पुगेको अर्को टोली जर्मनबाट थोमस मुलर, फिलिप ल्हाम, टोनी क्रुस र म्याट्स ह्युमेल्सले ठाउँ पाएका छन्। कोलम्बियाका जेम्स रोड्रिगुएज, ब्राजिलका नेमार र नेदरल्यान्ड्सका आर्यन रोवेन पनि सूचीमा छन्।
उत्कृष्ट खेलाडीलाई गोल्डेन बल प्रदान गरिनेछ। यसैगरी फिफाले उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डन ग्लोब पुरस्कारका लागि पनि सम्भावित खेलाडीको नाम सार्वजनिक गरेको छ। गोल्डेन ग्लोबका लागि सार्वजनिक गरिएको सूचीमा कोस्टारिकाका किलर नाभास, जर्मनीका म्यानुअल नेउर र अर्जेन्टिनाका सर्जियो रोमेरो परेका छन्। फिफाले विश्वकपको उत्कृष्ट युवा खेलाडी पुरस्कारको सूचीमा भने नेदरल्यान्ड्सका मेम्फिस डेपी र पोल पोग्वा तथा फ्रान्सका राफेल भरानेलाई समावेश गरेको छ।
यसअघि सन् १९९४ मा ब्राजिलका रोमारियो, सन् १९९८ मा ब्राजिलकै रोनाल्डो, सन् २००२ मा जर्मनीका ओलिभर कान, सन् २००६ मा फ्रान्सका जिनेदिन जिदान र सन् २०१० मा उरुग्वेका डिएयो फोर्लानले विश्वकपको उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका थिए।

Comments

Popular Posts