हार्नुमा रेफ्री दोषी: जेम्स रोड्रिग्वेज

कोलम्बियाली स्टार जेम्स रोड्रिग्वेजले आफ्नो राष्ट्रको विश्वकप जित्ने सपनाको अन्त्य हुनुमा स्पेनिस रेफ्री कार्लो फेलास्को कार्बालोको भूमिका निर्णायक रहेको आरोप लगाएका छन्।
क्वार्टरफाइनलमा शनिबार आयोजक ब्राजिलसँग २–१ ले पराजित हुँदै कोलम्बिया विश्वकपबाट बाहिरिएको थियो। यद्यपि व्यक्तिगत रोड्रिग्वेज विश्वकपका ६ खेल बाँकी रहँदासम्म उच्च गोलकर्ता बनेका छन्। ब्राजिलविरुद्ध पेनाल्टीमा १ गोल गरेका उनको ५ खेलमा गोलसंख्या ६ पुगेको छ।
‘हाम्रो हारमा दुर्भाग्यवश, रेफ्रीको भूमिका निकै सहयोगी रह्यो,' मोनाकोका प्लेमेकरले भने। उनलाई ब्राजिलियन खेलाडीले केही खतरनाक ट्याकल गरेका थिए। म्यानचेस्टर सिटीका फर्नान्डिहो त्यसमा मुख्य रहे। पहिलो हाफमा मात्र उनले रोड्रिग्वेजलाई तीनपटक खराब ट्याकल गरेका थिए। त्यस बाबजुद पनि उनले पहेँलो कार्डको दर्शन गर्नुपरेन।
तथापि त्यो खेल ब्राजिलका लागि निकै महँगो रह्यो। टोलीका स्टार स्ट्राइकर नेइमार चोटग्रस्त भए। मेरुदण्डमा चोट लागेका कारण उनले विश्वकपका बाँकी खेल गुमाउने छन्। दुई मिनेट बाँकी हुँदा जुनिगासँग ठोक्किँदा नेइमारलाई चोट लागेको हो।
‘मलाई लाग्छ रेफ्रीले खेलमा निकै प्रभाव पारे। तर पनि जे हुनु्भयो। हामीले आउने यात्राबारे सोच्न आवश्यक छ,' खेलपछि आँसु थाम्न नसकेका रोड्रिग्वेजले भने, ‘हामी साँच्चै निकै दुःखी छौं। किनकि हामी विश्वकपमा अझै अघि जान चाहन्थ्यौं। त्यसले गर्दा पनि बढी चित्त दुखेको छ। ब्राजिली उत्कृष्ट टोली हो।'
खेलपछि निकै समय रोइरहेका रोड्रिग्वेजलाई रक्षक डेविड लुइजसँगै अन्य ब्राजिलियन खेलाडीले सान्त्वना दिएका दिए। हालै पेरिस सेन्ट जर्मेन पुगेका लुइजले कोलम्बियाको सम्मानमा ताली बजाउन ब्राजिलियन समर्थकलाई प्रेरित गरेका थिए।
२२ बर्षे रोड्रिग्वेजले विश्वकप इतिहासमा पहिलोपटक क्वार्टरफाइनल पुग्न सफल भएकोमा कोलम्बियाले गर्व गर्ने बताए। ‘म कोलम्बियाली जनतालाई धन्यवाद दिन चाहन्छु। उनीहरू जहिले हाम्रो साथमा रहे र हामीलाई विश्वास गरिरहे,' उनले भने ,’हामी दुःखी त छौं। तर सँगै गर्व पनि गर्छौं, हामीले सक्दो प्रयास गर्र्यौं र आउने दिनमा पनि यसलाई जारी राख्नेछौं।'
कोलम्बियाका प्रशिक्षक जोसे पेकरम्यानले पनि टोलीको तारिफ गरे। प्रतियोगितामा टोलीले जसरी प्रदर्शन गर्यो् र विश्वभर आफ्नो समर्थक बढाउन सफल भएको मात्र पेकरम्यानले खुसी व्यक्त गरे।
‘विश्वकपमा लामो समयपछिको पुनरागनमा हामीले कोलम्बियाली फुटबल स्तर विश्वसामु चिनाउन सक्यौं। त्यसमा केही प्रतिभावान युवा खेलाडीको भूमिका महत्त्वपूर्ण रह्यो र प्रतियोगिता अवधिमा टोलीले सामूहिक भावना प्रदर्शन गर्योु,' उनले भने, ‘हामी विश्वकपमा सहभागिताका लागि मात्र होइन उत्कृष्ट प्रदर्शन गर्न आएका थियौं। सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले यो टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्न सक्ने भएका छौं।'
यद्यपि पेकरम्यानले भने रेफ्रीको आलोचना गर्न चाहेनन्। ९० मिनेटको खेलमा ३१ वटा फाउल भए पनि उनले त्यसलाई समान्य लिए। ‘यो त्यस्तो खेल हो जहाँ सन्तुलित खालको प्रदर्शन थियो। दुवै टोलीमा निकै राम्रा खेलाडी थिए। यस्तोमा खेलमा केही तनाव र प्रतिस्पर्धा हुन्छ। किनकि हरेक खेलाडी आफ्नो युद्ध जित्न चाहन्थे,' उनले भने।
खेलबारे उनले थपे, ‘एकदमै तनाव थियो। ब्राजिल जित्न चाहन्थ्यो। हामी पनि हार्न आएका थिएनौं। जित्ने तीब्र इच्छा हामीमा पनि थियो। यी सब कारणले सायद धेरै राम्रो फुटबल हुन सकेन। प्रतिस्पर्धात्मक खेलमा कहिलेकाहीं यस्तो हुन्छ।'

Comments

Popular Posts