खेलाडीको निधनपछि परिवार बिचल्लीमा

खेलका क्रममा घाइते भएका जिम्न्यास्टिक खेलाडी अशोक कामतको मृत्य भएपछि आर्थिक अभावका कारण उनको परिवार बिचल्लीमा परेको छ। गत असार १३ गते सहिद रंगशालास्थित कभर्डहलमा खेलका क्रममा लड्दा अशोकको टाउकोमा गम्भीर चोट लागेको थियो। टाउकोको हड्डी फुटेर त्यसमा नसा च्यापिएरपछि अशोकलाई अचेत अवस्थामै उपचारार्थ भारतको पटना लगिएको थियो। तर, रकम अभावमा शल्यक्रिया हुन नसक्दा उनको मृत्यु भएको हो।

अशोकको मृत्युपछि उनकी श्रीमती पानदाइदेवी कामतलाई चार छोरी र एक छोराको भरणपोषण कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ। 'खेलकुदका अतिरिक्त पेट्रोल पम्पमा पनि काम गरेर परिवार चलाउनु हुन्थ्यो। कमाएर ल्याउने घरमूलीकै मृत्यु भएपछि हामी भोकभोकै बस्नुपर्ने अवस्था आएको छ', पानदाइदेवीले दु:खेसो पोखिन्। उनका छोरा एक वर्षका छन्।

आर्थिक अभावका कारण छोरीहरू विद्यालय समेत जान नसकेको पानदाइदेवीले बताइन्। छोराछोरीलाई दैनिक खानपान गराउनसमेत समस्या परेको गुनासो पारोदेवीले गरिन्। 'मेरा श्रीमानले देशका लागि खेले पनि उहाँको निधनपछि हामीलाई कसैले हेरेन', उनले भनिन्।

घाइते भएका ३६ वर्षीय अशोकलाई विराटनगरको न्युरो अस्पतालले रेफर गरी शल्यक्रिया गर्नु भन्दै भारतको पटना पठाएको थियो। तर, त्यहाँ उपचार गर्ने पैसा नभएपछि फर्काएर विराटनगर नै ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो। 'विराटनगरको अस्पतालमा औषधिको ४६ हजार रुपैयाँ तिर्न अझै बाँकी छ। ताकेता गरिरहेका छन्', पानदाइदेवीले भनिन्, 'घरमा आज खाए भरे के खाने भन्ने अवस्था छ। औषधिको बक्यौता कसरी तिर्ने? यी लालाबाला कसरी हुर्काउने साह्रै दु:ख भयो', उनले दु:खेसो पोखिन्।

अशोकले काम गर्ने विराटनगर-७ को पूर्वाञ्चल आयल सप्लायर्सले नेको इन्सुरेन्समा जीवन बिमा गरिदिए पनि हालसम्म कुनै सुविधा नपाएको अशोककी आमा घुर्नीदेवीले बताइन्। 'इन्सुरेन्स कम्पनीका कर्मचारीले त हाम्रो कुरा पनि सुन्न मानेका छैनन्', उनले भनिन्। जिम्न्यास्टिक संघ लगायत खेलकुदसँग सम्बन्धित अन्य संघसंस्थाबाट पनि अपेक्षित सहयोग नभएको कामत परिवारको गुनासो छ। कामत जिम्न्यास्टिक खेलमा जिल्लाकै अब्बल खेलाडी थिए।

Comments

Popular Posts