चुरोट तान्‍ने खेलाडीको आलोचना

चुरोट तान्दै गरेको तस्बिर सार्वजनिक भएपछि इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर ज्याक विलसेयर अप्ठ्यारोमा परेका छन्। विभिन्न साजाजित सञ्जालमार्फत विलसेयरले चुरोट तान्दै गरेको तस्बिर सार्वजनिक भएपछि उनको ब्यापक आलोचना भइरहेको छ। यस विषयलाई लिएर आर्सनलका प्रशिक्षक आर्सने वेंगरले पनि विलसेयरसँग कुराकानी गर्ने बताएका छन्। २२ वर्षीय विलसेयरले यसै साता लसभेगासमा आयोजिक एक पार्टीका क्रममा चुरोट तान्दै गरेको तस्बिर सार्वजनिक भएका हुन्। उनी बिदा मनाउन परिवारसहित लसभेगास गएका थिए।
यसअघि पनि यस्तै घटनामा विलसेयरले प्रशिक्षक वेंगरबाट चेतावनी पाएका थिए। गतवर्ष एक नाइट क्लबबाहिर विलसेयरले चुरोट तान्दै गरेको तस्बिर सार्वजनिक भएको थियो। 'पक्कै पनि खेलाडीको यस्ता गतिविधिले क्लबलाई फाइदा पुर्‍याउँदैन, यस विषयमा म विलसेयरसँग कुरा गर्छु', शनिबार राति आयोजित मैत्रीपूर्ण खेलपछि वेंगरले भने।
'यो विषयले व्यक्तिगत रूपमा मलाई केही फरक पार्दैन तर यस्ता अनावश्यक गतिविधिले खेलाडीको प्रदर्शनमा भने असर पार्न सक्छ। विलसेयरसँग कुरा गर्नुअघि यस विषयमा धेरै बोल्नु उचित हुँदैन', उनले भने। पछिल्लो समय विलसेयरले आफ्नो क्लब र राष्ट्रिय टोली इङ्ल्यान्डका लागि गतिलो प्रदर्शन गर्न सकेका छैनन्।
लगातारको निराशाजनक प्रदर्शनपछि उनको खेलजीवनसमेत अप्ठ्यारोमा पर्दै गएको छ। प्रशिक्षक वेंगरले भने उनी फेरि लयमा फर्कने विश्वास व्यक्त गरेका छन्। 'उनी प्रभावशाली मिडफि ल्डर हुन्। उनको उमेर पनि ढल्किएको छैन, मलाई विश्वास छ उनी फेरि पुरानै लयमा फर्कनेछन्', वेंगर भन्छन्। विलसेयरले भने चुरोट तान्दै गरेको तस्बिरको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

Comments

Popular Posts