नेपाली क्रिकेट: अफगानिस्तान र जिम्बाबेभन्दा अगाडि
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अन्तर्राष्ट्रिय टीट्वेन्टीको मान्यता दिए पनि नेपाल हालसम्म आइसीसीको वरियताक्रममा भने परेको छैन। आइसीसीद्वारा सोमबार राति सार्वजनिक गरिएको टीट्वेन्टी रेटिङमा भने नेपाल १२ औं स्थानमा परेको छ। वरियताक्रममा सामेल हुन सन् २०१० को अगस्ट १ देखी सन् २०११ को जुलाई अन्तिमसम्म कम्तिमा आठवटा खेल खेलेको हुनुपर्छ।
वरियताक्रमको १२ औं स्थानमा रहेको अफगानिस्तानभन्दा नेपालको रेटिङ बढी छ। अफगानिस्तानको ६२ र नेपालको ६३ रेटिङ प्वाइन्ट छ। रेटिङमा नेपाल जिम्बाबे र स्कटल्यान्डभन्दा पनि अगाडि छ। जिम्बाबेको ५२ र स्कटल्यान्डको ५१ रेटिङ प्वाइन्ट छ। वरियताक्रम नपाएका तीन टोली नेपाल, हङकङ र युएईमध्ये नेपाल शिर्ष स्थानमा छ। आईसीसीको टीट्वेन्टी वरियताक्रममा १४ टोलीलाई समेटिएको छ। रेटिङका आधारमा वरियताक्रम छुट्याउने गरिएको छ।
बंगलादेशमा सम्पन्न आईसीसी टीट्वेन्टी विश्वकपमा नेपालले खेलेका तिनवटा खेलले मात्र अन्तराष्ट्रिय टीट्वेन्टीको मान्यता पाएको थियो। त्यतिबेला नेपालले आईसीसीको टीट्वेन्टी मान्यता नपाए पनि विश्वकपको खेल भएकाले नेपालको खेललाई पनि अन्तराष्ट्रिय टीट्वेन्टीको मान्यता दिएको थियो।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै आईसीसीले नेपाललाई हालै अन्तराष्ट्रिय टीट्वेन्टीको मान्यता दिएको थियो। सिनियरतर्फ पहिलो पटक क्रिकेट विश्वकप खेलेको नेपालले उक्त प्रतियोगितामा दुई जित र एक बराबरीको नतिजा निकालेको थियो। अन्तराष्ट्रिय एकदिवशियको मान्यता नपाए पनि सोझै टीट्वेन्टीको मान्यता पाउने राष्ट्र नेपाल र नेदरल्यान्ड्स मात्र हुन्। त्यसअघि एकदिवशिय मान्यता पाएका आईसीसीको एसोसिएट सदस्यले स्वत: टीट्वेन्टी अन्तर्राष्ट्रियको पनि मान्यता पाउने गर्थे।
आईसीसीको पछिल्लो टीट्वेन्टी वरियताक्रममा भारत पहिलो, श्रीलंका दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र अस्ट्रेलिया पाँचौ स्थानमा छन। यसैगरी न्युजिल्यान्ड छैटौं, वेस्ट इन्डिज सातौं, इङल्यान्ड आठौं, आयरल्यान्ड नवौं, बंगलादेश दशौं, नेदरल्यान्ड्स ११ औं, अफगानिस्तान १२ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १४ औं स्थानमा रहेका छन्।
Comments
Post a Comment