एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक अध्यक्ष तारिणीविक्रम (टिबी) शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्वान्टी–२० प्रतियोगिता पारदर्शी र स्वच्छ रूपमा सम्पन्न गर्न क्यान प्रतिबद्ध रहेको बताएका छन्।
एनपिएलको पहिलो संस्कणमा ५० ओभर र २० ओभरका दुई प्रतियोगिता समावेश छन्। ५० ओभरको प्रतियोगिता दुई महिनाअघि सुदूरपश्चिममा सम्पन्न भइसकेको छ। ट्वान्टी–२० भने विवादका कारण हुन सकेको छैन। क्यानका केही सदस्यले अध्यक्ष टंक आङबुहाङप्रति विश्वास नरहेको बताइसकेका छन्। अध्यक्ष, महासचिव अशोकनाथ प्याकुरेल र अन्य पदाधिकारीसहित क्यान आर्थिक अनियमितताको मुद्दा खेपिरहेको छ। अध्यक्ष, महासचिव र कोषाध्यक्ष राजुबाबु श्रेष्ठसहित क्यानका १० सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। जसका कारण वरिष्ठ उपाध्यक्ष शाहले कार्यबाहक अध्यक्षमा काम गरिरहेका छन्।
अध्यक्ष आङबुहाङले एनपिएल गर्न निजी कम्पनी जोहरा स्पोर्टस म्यानेजमेन्टलाई असीमित अधिकार दिएको भन्दै कार्यसमितिका सदस्यहरू उनीसँग रुष्ट भएका थिए। उनीहरूले जोहरालाई एनपिएल गर्न दिनुअघि क्यानले टेन्डर नगराएको लगायतका कुरा उठाउँदै प्रतियोगिताको विरोध गरेका थिए।
'जोहरा स्पोर्टसले सुरुमा एनपिएल आयोजनाको प्रस्ताव राखेको थियो, जुन नेपाली क्रिकेटका लागि ठूलो थियो,' क्रिकेटको वेबसाइट क्रिकइन्फोसँगको अन्तर्वार्तामा शाहले भनेका छन्, 'हामी प्रतियोगिता पारदर्शी सम्पन्न होस् भन्ने चाहन्थ्यौं। हामीले खासगरी आचारसंहिता, भ्रष्टाचाररहित र अन्य आर्थिक मामलामा प्रतियोगिता निष्कलंक होस् भन्ने चाहेका थियौं। एनपिएलको आवश्यकताबारे कुनै प्रश्न छैन। त्यो नेपाली क्रिकेटका लागि अपरिहार्य छ।'
जोहरा स्पोर्टस राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी आमिर अख्तरको स्वामित्वमा रहेको कम्पनी हो। अख्तरले एनपिएलको सोचमा आफूले क्यानलाई सहमत गराइसकेको बताउँदै क्यानसँग कुनै आर्थिक सम्झौता नभएकाले एकाउन्ट देखाउनुपर्ने आवश्यकता नरहेको दाबी गर्दै आएका छन्। 'एनपिएल गर्ने सोच क्यानको नभई जोहरा स्पोर्टसको हो। त्यसैले यसका लागि टेन्डर आवश्यकता म देख्दिनँ,' अख्तरलाई उद्धृत गर्दै क्रिकइन्फोले लेखेको छ, 'आर्थिक विषयमा क्यानसँग हाम्रो कुनै सम्झौता छैन। खेलाडी, अम्पायर, ग्राउन्ड कर्मचारी तथा अन्य सबैलाई पैसा दिने काम जोहरा आफैले गरेको छ। त्यसैले सैद्धान्तिक रूपमा पनि हामीले कसैसँग आफ्नो खाता सार्वजनिक गर्न सक्दैनौं।'
बंगलादेशमा मार्चमा ट्वान्टी–२० विश्वकप खेलेपछि लगातार विभिन्न विवादमा फसेको नेपाली क्रिकेटमा अध्यक्ष आङबुहाङको राजनीतिक व्यस्तताका कारण धेरै समस्या सिर्जिएको शाहको आशय थियो। 'जोहरा र एनपिएलका लागि क्यानले गठन गरेको गभर्निङ काउन्सिलबीच के भयो, त्यो प्रस्ट छैन। अध्यक्षले समयमै त्यसलाई प्रस्ट पार्नुपर्थ्यो। उहाँको राजनीतिक व्यस्तताले सम्भव भएन होला। तर अब हामी सबथोक सन्तोषजनक रूपमा अघि बढाउने छौं। नेपाली क्रिकेटलाई पूरा पारदर्शी बनाउने छौं,' शाहले भनेका छन्।
एनपिएलको विषयमा विवाद सिर्जना भएपछि क्यान र जोहराको सहमतिमा गभर्निङ काउन्सिल गठन गरियो। तर गभर्निङ काउन्सिलको मागअनुसार जोहराले आम्दानी र खर्चको खातापाता देखाउन नमानेपछि क्यानका सदस्यहरूले काउन्सिल छाडेका थिए। धनगढीमा भएको एनपिएलको ५० ओभर संस्करणको उद्घाटनमा अध्यक्ष आङबुहाङ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा अतिथि भएर सहभागी हुँदा क्यानका बाँकी पदाधिकारीले भने काठमाडौंमा पत्रकार सम्मेलन गरेर एनपिएलसँग क्यानको सम्बन्ध नरहेको बताएका थिए।

Comments

Popular Posts