एन्फालाई लेखासमितिको निर्देशन

सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै महत्त्वपूर्ण निर्णय नगर्न निर्देशन दिएको छ। कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले एन्फाको गतिविधि र अनियमितताको बारेमा छलफल भइरहेकाले यसबारे अन्तिम निर्णय नहुन्जेल कुनै काम नगर्न निर्देशन दिएको हो।
'उजुरीका सम्बन्धमा अध्ययन भइरहेका बेला उजुरीकर्ता र अन्य पदाधिकारीहरूलाई कारबाही हुने गरी र यससम्बन्धी प्रमाण नष्ट हुने गरी कुनै पनि निर्णय नगर्न अर्को निर्देशन नभएसम्मका लागि युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छौं,' सार्वजनिक लेखा समिति सदस्य रामहरि खतिवडाले भने।
एन्फाले अहिले भइरहेका कामहरूको बारेमा छलफल गर्नका लागि साउन २० गते कार्यसमिति बैठक बोलाएको छ।
'अहिले राष्ट्रिय खेल संघ र यसका जिम्मेवार पदाधिकारीबारे धेरै प्रकारका आर्थिक अनियमितता र अन्य विषयमा प्रश्न उठिरहेका छन् त्यसैले हामीले यसको छानबिन गरिरहेका छौं, त्यसकै बीचमा अनियमितताबारे उजुरी दिने व्यक्तिलाई नै कारबाही गर्ने जस्ता जानकारी आएकाले यस्तो निर्देशन दिएका हौं,' खतिवडाले भने, 'यसको अर्थ खेल गतिविधि नै रोक्ने भन्ने होइन, खेलकुद नियमित सञ्चालन भइराख्छ तर एन्फाका आर्थिक नीतिका निर्णय, सम्झौता र कारबाहीका निर्णयहरू हुनु हुँदैन।'
उनले लेखा समितिले एक साताअघि तीन दिनभित्र पाँच वर्षको आर्थिक प्रतिवेदन र वासलात मागे पनि आइतबार मात्र प्राप्त भएको र त्यसको अध्ययनपछि समितिले थप कारबाही अघि बढाउने बताए।
एन्फामा आर्थिक अनियमितता भएको र यसमा अध्यक्ष गणेश थापाको मुख्य हात रहेको भन्दै उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरलगायतले सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए।

Comments