फुटबल संघमा बिद्रोह: थापालाई बचाउन तमसुकमा हस्ताक्षर संकलन गर्दै बरिष्ठहरु

मनोरञ्जन शर्मा भैरहवा

एन्फामा देखिएको बिद्रोह दबाउन र फरक मतलाई निस्तेज पार्न एन्फाका बरिष्ठ पदाधिकारी देश दौडाहामा लागेका छन् । सारा देश बिश्वकप फुटबल प्रतियोगितामा रमाइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा)का शिर्ष पदाधिकारीहरु भने एन्फा अध्यक्ष गणेश थापाको पक्षमा समर्थन जुटाउन देश दौडाहामा निस्केका हुन् । देश दौडाहामा रहेका टोलीमा एन्फाका बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, महासचिब धिरेन्द्र प्रधान, सह महासचिबद्धय वीरबहादुर खडका र मणि कुबर प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधर सहितको ७ जनाको टोली रहेका छन् । 
उनीहरुले भ्रमणका क्रममा मंगलबार नेपालगन्जमा सुदुर पश्चिम र मध्यपश्चिमका जिल्लामा रहेका फुटबल संघका अध्यक्षहरुको भेला समेत आयोजना गरेको बुझिएको छ । भेलामा उनीहरुले गणेश थापा नभए नेपालमा फुटबल खत्तम हुने, बैदेशिक अनुदान (फिफा, एएफसी) रोकिने दाबी गर्दै एन्फा केन्द्रमा देखिएको फरक मतलाई निस्तेज पार्न आग्रह गरेको उच्च श्रोतले बताएको छ । उनीहरुले एन्फा बिरुद्ध लाग्नेहरु माथि अबिश्वास प्रस्ताब दर्ता गर्न र बिशेष साधारणसभा माग गर्न जिल्ला अध्यक्षहरुलाई आग्रह गरेको बुझिएको छ । जिल्ला अध्यक्षहरुको भेट तथा छलफलमा उनीहरुले केन्द्रबाट नै तयार गरिएको स्वेत तमसुखमा हस्ताक्षर गर्न दवाब दिएको भएता पनि त्यसो हुन नसकेको बताइएको छ । तमसुखमा एन्फा तथा केन्द्रिय अध्यक्ष गणेश थापा बिरुद्ध अभिब्यक्ति दिने उपाध्यक्षहरु कर्माछिरींग शेर्पा, किशोर राईलगायत ४ जनाले गलत अभिब्यक्ति दिएको, अनाबश्यक मिडियाबाजी गरेको र हुदै नभएको आरोप लगाएकोले उनीहरुको कृयाकलापबाट एन्फाको साख गिर्न गएकाले तत्काल उनीहरुलाई कारबाहीको माग गर्दै बिशेष साधारणसभा र उनीहरु माथि अबिश्वासको प्रस्ताब भन्ने लेखिएको छ । 
सुदुर र मध्यपश्चिमको भेलामा त्यहाका फुटबल हस्तीहरुले सादा कागजमा तमसुक नभै फुटबलको कार्यक्रम दिन माग गरेका छन् । भेलामा सहभागी एक जिल्लाका अध्यक्ष अनुसार एन्फामा गणेश थापा निर्बिकल्प नेता हुन भन्नेमा असहमती नरहेको तर उनका आसेपासेले मात्र धेरै अबसर पाएको भन्ने गुनासो आएको बताए । मंगलबार एक दिने छलफलमा त्यस क्षेत्रका कसैले पनि तयारी तमसुखमा हसताक्षर गर्न नमानेको बुझिएको छ ।उनीहरु सबैले एन्फाले मध्य तथा सुदुरपश्चिमलाई के दियो र भन्ने प्रश्न राख्दा एन्फा पदाधिकारी रातोपीरो भएको बताइएको छ ।
एन्फाको बिधानमा बिशेष साधारणसभा र अबिश्वास प्रस्ताबका लागि निबेदन हाल्न सकिने धारा छ । जिल्ला अध्यक्षहरुले जिल्ला कार्यसमितिको बैठक बिना नै बिशेष साधारणसभाको माग अन्य जिल्ला अध्यक्षसंग मिलेर हस्ताक्षर संकलन गरी केन्द्रीय समितिमा बुझाएको खन्डमा बिशेष साधारणसभा बोलाउन मिल्ने प्राबधान छ । एन्फा उच्च पदाधिकारी यही प्रयोजनको लागि सादा तमशुक बनाएर हस्ताक्षर संकलन गर्न देश दौडाहामा निस्केको हो । मध्य र सुदुरको भेलामा सादा तमसुखमा हस्ताक्षर गर्न हुन्न भन्ने माग आए पनि गणेश थापा पक्षधरका जिल्ला अध्यक्षहरुले भने हस्ताक्षर गरेको बुझिएको छ । 
मंगलबारको नेपालगन्ज भेला सके लगत्तै एन्फा टोली बुधबार बुटवल आएर रुपन्देही फुटबल संघको पदाधिकारी संग भेटघाट गरी बिशेष साधारणसभा र अबिश्वासको प्रस्ताब लेखिएको तमसुखमा हस्ताक्षर गर्न आग्रह गर्दा जिल्ला समितिको बैठकले निर्णय गर्ने बताए पछि उनीहरु पाल्पातिर हानिएका थिए । पाल्पामा उनीहरुले जिल्ला अध्यक्षको हस्ताक्षर गराउन सफल भएको बुझिएको छ । सोही दिन उनीहरु स्यांग्जा हुदै पोखरा पुगेका थिए । 
एन्फा भित्र बिसंगति देखिएको भन्दै बिद्रोहको स्वर बोलिरहेका माथि उनीहरुलाई कारबाही गराउन भन्दै तमसुक गराउन हिडेका एन्फा पदाधिकारीहरुको अहिले सर्बत्र बिरोध हुन थालेको छ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघले एन्फाको बिसंगति बिरुद्ध आवाज उठाउनेहरु माथि एन्फाले कारबाही गर्ने भन्दै हिडेकामा त्यस्को बिरोध गर्दै एन्फाको गलत कार्य बिरुद्ध आवाज उठाउनेहरुको साथ दिने भएको छ ।

Comments

Popular Posts