नाइट क्‍लबको झगडाले पिस्टोरियस फेरि चर्चामा

दक्षिण अफ्रिकाका ओलम्पियन धावक ओस्कार पिस्टोरियस चर्चामा आइरहने खेलाडी हुन्। दुवै गोडा नभए पनि कृत्रिम खुट्टाको सहयोगमा ओलम्पिकमा समेत छनोट भएर चर्चा बटुलेका पिस्टोरियस अहिले प्रेमिका रिभा स्टेनकेम्पको हत्या आरोपको मुद्दा खेपिरहेका छन्। तिनै पिस्टोरियस अहिले फेरि अर्को घटनामा मुछिएका छन्।
पिस्टोरियस नाइट क्लबको झगडामा मुछिएको घटना मंगलबार सार्वजनिक भएको छ। घटना गत शनिबारको भए पनि दक्षिण अफ्रिकाका सञ्चारमध्यमले मंगलबार मात्र त्यसलाई सार्वजनिक गरेका हुन्। आफन्तसँग नाइट क्लब पुगेका पिस्टोरियसलाई अपरिचित व्यक्तिले प्रेमिका हत्याको विषयमा प्रश्‍न गरेका थिए। प्रश्‍न सुनेर निकै उत्तेजित भएका पिस्टोरियसले ती व्यक्तिसँग झगडा गरे।
पिस्टोरियससँग झगडा गर्ने व्यक्तिको नाम जेर्ड मोर्टिमेर भएको समाचारमा उल्लेख छ। रिसको झोकमा २७ वर्षीय पिस्टोरियसले ती व्यक्तिलाई छातीमा ठेलेका थिए। जेर्डले पनि प्रतिउत्तरमा धकेल्दा पिस्टोरिस कुर्सीमा थेचारिएका थिए। घटना हुँदा पिस्टोरियस मदिराको नशामा लठ्ठ रहेको बताइएको छ।
पाराओलम्पिकमा पिस्टोरियसले ६ स्वर्ण, एक रजत र एक कांस्य पदक जितेका छन्। उनी विश्‍व च्याम्पियनसिपमा दोस्रो स्थान ओगट्न सफल भएका थिए। ११ महिनाको हुँदा पिस्टोरियसको घुँडामुनिको भाग रोगका कारण काट्नु परेको थियो।

Comments

Popular Posts