प्रशिक्षक दशानायके बिना नै नेपाली क्रिकेट टोली एशियाली खेलकुदमा
काठमाडौं, साउन ६ - सरकारले पुवुदु दशानायकेलाई थप एक वर्षका लागि नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त गरेपनि नेपाली क्रिकेट टिम दशानायके बिना नै एशियाली खेलकुदमा सहभागी हुने भएको छ ।
दशानायके आउने नआउने टुंगो नभएपछि नेपाल क्रिकेट संघ क्यानले २ महिनापछि दक्षिण कोरियामा हुने १७ औं एशियाली खेलकुदका लागि अरुण अर्याललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । क्यानले मंगलबार एक विज्ञप्ति निकाली एशियाली खेलकुदका लागि प्रशिक्षकमा अर्याललाई नियुक्त गरेको जानकारी दिएको छ ।
तर क्यानका महासचिव उत्तमकुमार कर्माचार्यले भने एशियाली खेलकुदका लागि खेलाडी र प्रशिक्षकको नाम पठाई हाल्नु पर्ने भएकाले दशानायकेको म्याद नथपिँदै यसअघि नै अर्यालको नाम प्रशिक्षकका रुपमा नेपाल ओलम्पिक कमिटिमा पठाएको जानकारी दिनुभयो ।
एशियाली खेलकुदमा भाग लिन जाने खेलाडी तथा पदाधिकारीको भिषा तथा अरु व्यवस्था र प्रतियोगिता आयोजकसँगको समन्वय नेपाल ओलम्पिक कमिटिले मिलाउने गर्छ । कमिटिले १५ जना खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापकको नाम पठाउन भनेअनुसार आफूहरुले नाम पठाएको र अब दशानायके आएमा र सरकारले खर्च व्यहोरेमा एशियाली खेलकुदमा प्रशिक्षक बनेर दशानायके पनि जाने बाटो खुल्ला रहेको बताउनुभयो । सरकारले म्याद थपे पनि दशानायकेसँग आफूहरुको सम्पर्क नभएको भन्दै कर्माचार्यले उहाँको बारेमा क्यानलाई थप जानकारी नभएको बताउनुभयो ।
१७ औं एशियाली खेलकुद सेप्टेम्वर २० देखि अक्टुवर ०४ सम्मा दक्षिण कोरियामा हुन लागेको छ र यो प्रतियोगितामा क्रिकेट पनि समावेश गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको लागि महिला र पुरुष गरी १९–१९ जना खेलाडी छनौट गरेको छ । यी १९ जना मध्येबाट अन्तिम चरणमा १५–१५ जना खेलाडी चयन गरिने छ ।
छनौट भएका पुरुष खेलाडीहरु
पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, सोमपाल कामी, मेहबुब आलम, नरेश बुढाऐर, बसन्त रेग्मी, राहुल विश्वकर्मा, प्रदीप ऐरी, जितेन्द्र मुखिया, भुवन कार्की, मञ्जित श्रेष्ठ, राजकुमार प्रधान, पुष्प थापा, रामनरेश गिरी, श्रीनिवास शमशेर जबरा (व्यवस्थापक) र अरुण अर्याल (प्रशिक्षक) ।
छनौट भएका महिला खेलाडीहरु
रुबिना क्षेत्री, ममता थापा, सरिता मगर, सिता राना मगर, करुणा भण्डारी, शोभा आले, रेखा रावल, कविता गौतम, काजल श्रेष्ठ, रोशनी बोहोरा, सोनु खड्का, अञ्जली चन्द, ममता चौधरी, ज्योती पाण्डे, तृष्णा, सरस्वती चौधरी, नेरी थापा मगर, इन्दु वर्मा, बिनु बुढा मगर, सञ्जय राज सिंह (व्यवस्थापक) र नविनकुमार सिंह (प्रशिक्षक) ।
Comments
Post a Comment