गुनासो गर्दै कोस्टारिका छाडे प्रशिक्षक पिन्टोले

कोस्टारिकालाई हालै सम्पन्न विश्वकपको क्वार्टरफाइनलसम्म पुर्‍याएर चर्चा बटुलेका प्रशिक्षक जोर्गे लुइस पिन्टोले पद त्याग गरेका छन्। कोस्टारिकाको फुटबल संघले पनि प्रशिक्षक पिन्टोले पदत्याग गरेको पुष्टि गरेको छ।
फुटबल संघ र पिन्टोबीच सम्झौता नवीकरणको विषयमा कुरा नमिलेपछि उनले बिहीबार नै कोस्टारिका छाडेको संघले जनाएको छ। पिन्टोले भने प्रशिक्षण समितिमै रहेका केही सदस्यसँगको मतभेदका कारण पदत्याग गरेको दाबी गरेका छन्। ती सदस्यको नाम भने उनले खुलाउन चाहेनन्।
'प्रशिक्षण समितिका केही सदस्यले साढे एक वर्षअघि नै मलाई पदबाट हटाउने तयारी भएको रहस्य पनि खोले, त्यो थाहा पाएपछि अपमान सहेर पदमा बसिरहन उचित लागेन', पिन्टोले भने, 'सायद म साढे एक वर्षदेखि शत्रुसँग सुतिरहेको थिएँ।'
फुटबल संघसँग सुविधा बढाउने विषयमा आफूले कुनै मोलमोलाइ नगरेको पनि उनले बताए। 'सुविधा बढाउने विषयमा मैले कुनै मोलमोलाइ गरेको छैन, मैले राजीनामा दिनुपर्ने एकमात्र कारण भनेको प्रशिक्षण समितिमा रहेका केही सदस्यसँगको मतभेद नै हो', उनले भने। पिन्टोले प्रशिक्षणमा पाउलो वान्चोप र लुइस मारिनले सहयोग गर्दै आएका थिए। वान्चोप र मारिन दुवै पूर्वराष्ट्रिय खेलाडी हुन्।
ब्राजिल विश्वकपमा पिन्टोको प्रशिक्षकत्वमा कोस्टारिकाले नसोचेको सफलता हात पारेको थियो। पहिलो चरणबाटै बाहिरिने अनुमान गरिए पनि कोस्टारिका क्वार्टरफाइनलसम्म पुगेको थियो। क्वार्टरफाइनलमा भने कोस्टारिका नेदरल्यान्ड्ससँग पेनाल्टी सुटआउटमा ४-३ गोलले हारेको थियो।
पिन्टो तीन वर्षअघि कोस्टारिकाको प्रशिक्षक बनेका थिए। कोस्टारिका फुटबल संघका अध्यक्ष एडुआर्डो लीले नयाँ प्रशिक्षक खोज्न करिब तीन महिना समय लाग्ने बताएका छन्। अर्का प्रशिक्षक नआएसम्म वान्चोप र मारिनले नै राष्ट्रिय टोली सम्हाल्ने जानकारी पनि अध्यक्षले दिए।

Comments

Popular Posts