मन्त्रालयले हस्तक्षेप गरे एमाओवादीलाई अघि सार्ने लामाको चेतावनी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुद मन्त्रालयबाट १७ औं एसियाली खेलकुद (एसियाड) को तयारीमा असर पार्ने काम भए आफू राजनीतिक रूपमा अगाडि बढ्न बाध्य हुने चेतावनी दिएका छन्। मन्त्रालयले अनावश्यक हस्तक्षेप गरे आफूले प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीलाई अघि सार्ने बताए।
'राखेपमा आएको ३७ महिना बित्दासम्म मैले कुनै राजनीतिक दललाई गुहारेको छैन, तर बजेट निकासाको विषयमा मन्त्रालयले अवरोध सृजना गरे राजनीतिक दलको साथ लिनेछौं। हाम्रो पार्टी एनेकपा माओवादी प्रमुख प्रतिपक्षी दल भएकाले राज्य संयन्त्रमा हाम्रो पार्टीको पनि अधिकार छ। हाम्रो यो लडाइँ विधि र पद्धतिका लागि हो', बिहीबार राखेपमा आयोजित पत्रकारसम्मेलनमा सदस्यसचिव लामाले भने।
युवा तथा खेलकुदमन्त्री पुरु षोत्तम पौडेल र सदस्यसचिव लामाबीच बढेको विवादका कारण दुई महिनापछि दक्षिण कोरियामा आयोजना हुने १७ औं एसियाडका लागि नेपालको तयारी प्रभावित बनेको छ। एसियाड तयारीका लागि अहिले दुईवटा समिति अस्तित्वमा छन्।
मन्त्री पौडेलले राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा तयारी समिति गठन गरेका छन्। राखेपले भने राष्ट्रिय टिम तथा प्रतियोगिता तयारी समिति बनाएर आगामी एसियाडको काम अघि बढाइरहेको छ। एउटै प्रतियोगिताका लागि दुईवटा सरकारी निकायले फरकफरक तयारी समिति बनाएपछि समग्र नेपाली खेलकुद अन्योलमा परेको छ।
पत्रकारसम्मेलनमा लामाले मन्त्री पौडेलले कानुनको ठाडो उल्लंघन गरिरहेको आरोप पनि लगाए। मन्त्री पौडेलले अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको सदस्यसचिव लामाको दाबी छ। 'राखेप अध्यक्षका रूपमा खेलकुदमन्त्रीले खेलकुदको विकास, विस्तार र नियम कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने हो', लामाले खेलकुद विकास ऐनमा भएको व्यवस्था पढेर सुनाए। खेलकुदमा कार्यकारी अधिकार राखेपलाई मात्र भएको सदस्यसचिव लामाको दाबी छ।
पौडेल युवामन्त्री बनेर आएदेखि नै खेलकुद मन्त्रालय र राखेपबीच विवाद सुरु भएको हो। मन्त्री पौडेलले फरक राजनीतिक दलको मन्त्री आएपछि सदस्यसचिवले राजीनामा दिएर मन्त्रीलाई आफ्नो नीति लागू गर्ने वातावरण बनाइदिनु पर्ने अभिव्यक्ति दिँदै आएका छन्। वर्तमान सदस्यसचिवले पदबाट राजीनामा नगरेर नैतिकता बिर्सिएको आरोप पौडेलले लगाउँदै आएका छन्।
लामाले भने आफू पूरै अवधि पदमा रहने अडान दोहोर्‍याउँदै आएका छन्। मन्त्री र सदस्यसचिवबीचको विवादका कारण लामो समयदेखि राखेपको बोर्ड बैठकसमेत बस्न सकेको छैन। 'बोर्ड बैठक नबस्दासम्म एसियाडमा सहभागिता हुन्न। सहभागी हुने खेलदेखि खेलाडी संख्यासमेत बोर्डले नै पास गर्नुपर्छ। हामीले तीनपटक मन्त्रीलाई बैठक बोलाउन अनुरोध गर्दा पनि उहाँले टेर्नु भएको छैन', लामाले भने।
१७ औं एसियाड आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म दक्षिण कोरियामा आयोजना हुँदै छ। सदस्यसचिव लामाले राखेप बोर्डको बैठक बोलाउने विषयमा बिहीबार नै प्रधानमन्त्री सुशिल कोइरालालाई पत्राचार गरेको जानकारी पनि दिए। प्रधानमन्त्री कोइराला राखेपका संरक्षक पनि हुन्।

Comments

Popular Posts