जर्मनी फाइनलमा, ब्राजिलको लज्जास्पद हार
कप्तान थियागाे सिल्भा र प्रमुख स्टाइकर नेयमारलार्इ काेलम्बियासँगकाे क्वाटरफाइनल खेलपछि गुमाएकाे ब्राजिल जर्मनीसँग बुधबार अविश्वसनीय र अकल्पनीय ७-१ को पराजय स्वीकार्न बाध्य भयाे भने जर्मनी विश्वकप इतिहासमा सर्वाधिक ८ पटक फाइनल खेल्न कीर्तिमान बनाउन सफल भयाे । सन् २००२ यता जर्मनी विश्वकपको फाइनल पुगेको यो पहिलो पल्ट हो । अब जोचिम लोको जर्मनीले फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
लज्जास्पद हारसँगै लुइज फिलिपे स्कोलारीको ब्राजिलको विश्वकप चुनौती समाप्त भएको छ । ब्राजिलले आफ्नो समग्र फुटबल इतिहासमै बेहोरेको यो सबैभन्दा ठूलो हार हो । ब्राजिलको हारलाई विश्वकप इतिहासमै अहिलेसम्मकै सर्वाधिक अप्रत्यासित मानिएको छ ।
जर्मनीका लागि यसपल्टको विश्वकपको पहिलो सेमिफाइनल जित ऐतिहासिक रह्यो । लगातार चौथो पल्ट सेमीफाइनल खेलिरहेको जर्मनी अब उपाधिको बलियो दावेदार हुनेछ । जर्मनीले पहिलो हाफमा छ मिनेटको अन्तरमा चार गोल गरेको थियो । पहिलो हाफको अन्त्यमा जर्मन पाँच गोलले अगाडि रहिसकेको थियो ।
थोमस मुलरले ११ औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । उनको यो ब्राजिलमा पाँचौं गोल हो । मिरोस्लाभ क्लोजले २३ औं मिनेटमा दोस्रो गोल गरे र यसक्रममा ऐतिहासिक उपलब्धी हात पारे । उनी विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने खेलाडी भएका छन् । यसअघि ब्राजिलका रोनाल्डोको नाममा १५ गोलको कीर्तिमान थियो ।
त्यसयता टोनी क्रुसले २४ र २६, खडेराले २९ तथा आन्द्रेयी स्कलरले ६९ र ८९ औं मिनेटमा गोल गरे । खेलको अन्त्यतिर ओस्करले ब्राजिलका लागि एक गोल फर्काए ।
Comments
Post a Comment