दामोदर बाजे 'पेले' बनेपछि ...

नयाँबानेश्‍वर हाइटका ८३ वर्षीय दामोदर गौतमलाई एक महिनादेखि फुर्सद छैन। उमेरले उनी ओछ्यानमै बसेर खाना खाने स्थितिका भइसके। तर उनको जोश कुनै १६ बर्से युवाको भन्दा कम छैन। रातभर विश्‍वकप फुटबलमा रमाउँदै आएका उनलाई स्थानीय बासिन्दाले 'पेले दाइ' उपनाम दिएका छन्। समूहमा बसेर नियमित फुटबल हेर्दै आएकाले स्थानीयले समूहको नेतृत्व गर्ने जिम्मा पनि उनैलाई दिएका छन्।
उनीहरूको विश्‍वकप हेर्ने तरिका पनि फरक छ। एकै ठाउँमा भेला भएर फरकफरक घरमा आलोपालो विश्वकप हेर्नु उनीहरूको दिनचर्या छ। प्रत्येक खेलमा स्थानीयबीच दुई समूह बनाइन्छ। एउटा पक्षले एउटा टोलीको सर्मथन गर्छ भने अर्को पक्षले अर्को टोलीको। खेलका क्रममा फुटबलसँग सम्बन्धित गीत, कविता, हाजिरीजबाफजस्ता गतिविधि पनि सँगै हुन्छन्। जित्ने टोलीले हार्ने टोलीलाई घोचपेच गर्नु अर्को रमाइलो पाटो हो।
छिमेकीबीच आपसी सद्भाव कायम राख्दै फुटबलको मजा लिन विश्वकप सुरु भएदेखि नै यस्तो काम हुँदै आएको स्थानीय महेश्‍वर गौतमले बताए। 'समूहमा बसेर फुटबल हेर्नेमात्र होइन, आपसमा सामान्य खाजाको बाजी पनि राखिँदै आएको छ। बुधबार अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल स्थानीय मुकुन्द बास्कोटाको घरमा हेर्ने व्यवस्था गरिएको थियो। उक्त खेलमा मम: बाजी राखिएको थियो', महेश्‍वरले भने।
छरछिमेकमा विश्‍वकप फुटबलको वातावरण बनाउने उद्देश्यले सहभागी व्यक्तिको नाम पनि चर्चित खेलाडीको नामबाटै राखिएको छ। मध्यस्थकर्ता आनन्दराम रेग्मीलाई म्याराडोना, महेश्‍वर गौतमलाई मुलर, विजय गौतमलाई नेमार र प्रकाश भण्डारीलाई मेसी नाम दिइएको छ। जनक खनाल, कवीन्द्र पौडेल, विद्या गौतमलगायत युवाले यो अभियानमा सक्दो सहयोग गर्दै आएका छन्। प्रत्येक खेल सकिएपछि जित्‍ने टोलीलाई हौसला र पुरस्कार दिने काम भने उनै दामोदर बाजेले गर्छन्।
नेपाली समर्थकले ब्राजिलमा जारी विश्‍वकपलाई अहिले आआफ्नै शैलीमा हेर्ने र मनाउने क्रम जारी छ। सेमिफाइनलमा ब्राजिलको नराम्रो बहिर्गमन र नेदरल्यान्ड्सको दुर्भाग्यसँगै विश्‍वकप उपाधि कसले लैजाला भन्ने कौतूहल पनि उत्तिकै छ। विश्वकपको फाइनलमा राम्रो टोली पुगेको चर्चा गर्ने नेपालीको जमात पनि कम छैन।
यसैबीच एमाओवादी नेता बाबुराम भट्टराईले विश्‍वकपको फाइनल खेललाई चे ग्वेभारा र कार्ल माक्र्स जन्मेको देशबीचको भिडन्तका रूपमा लिएका छन्। बुधबार राति भएको सेमिफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेपछि भट्टराईले फेसबुक स्टाटसमा लेखेका छन्, 'चे ग्वेभारा जन्मेको देश अर्जेन्टिना र कार्ल माक्र्स जन्मेको देश जर्मनीबीच हुने विश्‍वकप फुटबलको फाइनल खेल साँच्चिकै रोमाञ्चक हुने भयो।'

Comments

Popular Posts