'आफैं प्रहार गरौं कि जस्तो लागेको थियो'- मेस्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले स्विट्जरल्यान्डसँग मंगलबार राति भाग्यकै कारण जितेको भन्दै यसलाई टिमले अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। 'हामी भाग्यमानी रह्यौं। अब यसको अधिकतम सदुपयोग गरेर अगाडि बढ्नुपर्छ', स्विट्जरल्यान्डलाई १-० गोलले हराउँदै विश्वकपको क्वार्टरफाइनलमा पुगेपछि अर्जेन्टिनाका कप्तान मेसीले भने।
खेलको अतिरिक्त समयको अन्त्यतिर मेसीले विपक्षी रक्षापंक्तिलाई छकाउँदै निकालेको पासमा एन्जेल डि मारियाले निर्णायक गोल गरेका थिए। 'म आफैंले प्रहार गरौं कि जस्तो लागेको थियो, तर मारिया बल लिन तयार देखें र उनैलाई दिएँ', गोल गर्दाको क्षण उनले स्मरण गरे। अतिरिक्त समय सकिन दुई मिनेट मात्र बाँकी छँदा अर्जेन्टिनाले निर्णायक गोल गरेको थियो।
त्यसलगत्तै स्विट्जरल्यान्डको एक प्रहार साइड बारमा लागेर फर्कियो। रिबाउन्डमा पनि गोल गर्ने अवसर देखिए पनि स्विस खेलाडी असफल भए। निर्धारित ९० मिनेटको समयमा स्विट्जरल्यान्डले केही राम्रा मौका पाए पनि अर्जेन्टिनाका गोलरक्षक सर्जियो रामोसले टोलीको संकट टारेका थिए।
भाग्यलाई अधिकतम सदुपयोग गर्नुपर्ने मेसीको भनाइको मतलब टोलीले अब प्रदर्शन सुधार गर्नुपर्ने थियो। मेसी धेरै अगाडि बढ्न चाहन्छन्। त्यसैले उनी स्विट्जरल्यान्डसँग खेल्दा धेरै डर लागेको बताए। 'गोल हुन नसकेपछि म धेरै निराश थिएँ। यतिबेला एउटा गल्तीले पनि हामी प्रतियोगितामा अगाडि बढ्न असमर्थ हुन्थ्यौं', मेसीले भने, 'हामी टाइब्रेकरमा जान चाहन्नथ्यौं।' अर्जेन्टिनाका केही राम्रा आक्रमणको स्विट्जरल्यान्डका गोलरक्षकले आकर्षक बचाउ गरेका थिए।
जारी प्रतियोगितामा अर्जेन्टिनालाई उपाधिको दाबेदार मानिए पनि अपेक्षित प्रदर्शन गर्न सकेको छैन। समूहगत चरणमा तीनवटै खेल जिते पनि अर्जेन्टिनाको प्रदर्शन सन्तोषजनक थिएन। बोस्निया हर्जगोभिनालाई २-१ गोलले हराएको अर्जेन्टिनाले इरानलाई १-० र नाइजेरियालाई ३-२ गोलले हराएका थियो। समूहगत चरणका तीनवटै खेलमा गोल गरेका मेसी स्विट्जरल्यान्डसँग भने असफल भए।
उनी यस खेलमा पनि अर्थात् लगातार चौथो खेलमा प्लेयर अफ दि म्याच चुनिए। अनलाइन भोटिङका आधारमा खेलको प्लेयर अफ दि म्याच छानिने गरिएको छ। मेसीले जारी प्रतियोगितामा चार गोल गरिसकेका छन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेका कोलम्बियन जेम्स रोड्रिगुएजभन्दा एक गोलले मात्र पछि छन्। अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा बेल्जियमको सामना गर्नेछ।

Comments

Popular Posts