१० नम्बर जर्सीमा रोड्रिग्वेज

विश्वकपमा सनसनी मच्चाएका कोलम्बियाली स्टार हामेस रोड्रिग्वेजलाई रियाल मड्रिडले यो सिजनको नयाँ अनुबन्धित खेलाडीमा मंगलबार दसौं हजार समर्थकसामु सान्टियागो बेर्नाबेउमा सार्वजनिक गरेको छ।
ब्राजिलमा सम्पन्न विश्वकपमा सर्वाधिक ६ गोल गरेका २३ वर्षे प्लेमेकर मोनाकोबाट ६ वर्षे सम्झौता गर्दै रियाल आएका हुन्। उनका लागि रियालले ८ करोड युरो खर्चेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन्। त्यो साँचो भए उनी रियालकै गारेथ बेल र क्रिस्टियानो रोनाल्डो तथा बार्सिलोनाका नेइमार र लुइस स्वारेजपछि विश्वकै पाँचौं महँगा खेलाडी बन्ने छन्।
'रियालको जर्सी लगाउनु भनेको निकै ठूलो दबाब हो। तर म त्यसका लागि तयार छु,' पछिल्लोपल्ट मेसुट ओजिलले लगाउने गरेको रियालको १० नम्बर जर्सीमा मुस्कुराउँदै रोड्रिग्वेजले भने, 'मेरा लागि रियाल आउनु भनेको सपना पूरा हुनु हो। त्यसैले अहिले म अत्यन्तै उत्साही छु। मेरो विचारमा अब कोलम्बियामा पनि यो महान क्लबका समर्थकको संख्या बढ्ने छ।'
दुवै क्लबले रोड्रिग्वेजको सरुवा रकमबारे नखुलाए पनि मोनाकोले भने यसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलोमध्ये एक सरुवा बताएको छ। मोनाकोले ४ करोड ५० लाख युरोमा उनलाई पोर्चुगलको एफसी पोर्टोबाट फ्रान्स भित्र्याएको थियो। रोड्रिग्वेजलाई बेच्न नचाहेको बताउँदै आएको मोनाकोले सरुवा प्रक्रिया सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामी फुटबल इतिहासकै सबैभन्दा ठूलो सरुवामध्ये एकको हिस्सा हुन पाएकोमा गौरवान्वित छौं।'
कोलम्बियाका लागि गरेको ६ गोलका कारण उनले विश्वकपमा गोल्डेन बुट पुरस्कार जितेका थिए। उरुग्वेविरुद्ध उनले भलीमा गरेको गोल विश्वकपको सर्वोत्कृष्ट गोल घोषित भयो। सान्टियागो बेर्नाबेउमा समर्थकसामु सार्वजनिक हुनुअघि रोड्रिग्वेजले टि्वट गरेका थिए, 'रियाल भनेको साँच्चै सपना थियो। विश्वको सर्वोत्कृष्ट क्लबको एउटा हिस्सा हुन पाएकोमा खुसी छु।'
चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग मुख्य रस्साकस्सी हुने नयाँ सिजन सुरु हुन ५ दिन बाँकी रहँदा रियालले भित्र्याएको रोड्रिग्वेज यो वर्षका दोस्रो मुख्य खेलाडी हुन्। रियालले बिहीबारमात्र बायर्न म्युनिखबाट जर्मन मिडफिल्डर टोनी क्रुस भित्र्याएको थियो। २४ वर्षे क्रुस जर्मनीले ब्राजिलमा चौथोपटक विश्वकपको उपाधि जित्दा टोलीका मुख्य खेलाडी थिए।
रियालले कोस्टारिकाका गोलकिपर केइलर नाभासमाथि पनि आँखा लगाइरहेको छ। नाभासकै नायकत्वमा कोस्टारिकाले ब्राजिल विश्वकपको क्वार्टरफाइनल यात्रा गरेको थियो। नाभास हाल स्पेनिस ला लिगाकै टोली लेभान्टेमा छन्।
मोनाकोमा एक वर्षमात्र बिताएका रोड्रिग्वेजलाई विश्वकपको सनसनीपूर्ण प्रदर्शनले युरोपका सबैजसो ठूला क्लबले पहिलो लक्ष्य बनाएका थिए। कोलम्बियाली टोलीमा पनि विश्वकपअघिसम्म दोस्रो रोजाइको स्ट्राइकरमा मात्र स्थापित रोड्रिग्वेज मोनाकोकै टिम सहयात्री राडामेल फाल्काओ घाइते भएपछि मुख्य भूमिकामा आएका थिए। विश्वकपमा उच्च प्रदर्शन गरिरहँदा उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजले रोड्रिग्वेजलाई अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना र बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीसँग दाँजेका थिए।
रोड्रिग्वेजले पनि आफूले सानैदेखि स्पेनिस लिग हेर्ने गरेका कारण स्पेनिस लिगबाट खेल्ने चाहना राखेको बताए। 'स्पेनिस लिग म सधैं हेर्ने गर्थें। यो इङ्लिस प्रिमियर लिगभन्दा फरक छ। खासमै स्पेनिस लिग विश्वमै विशेष छ। यहाँ प्राविधिक फुटबललाई बढी महत्त्व दिइन्छ। बलमा बढी टच हुने फुटबल खेल्न मलाई मनपर्छ,' रोड्रिग्वेजले भने।
कोलम्बियाकै दोस्रो श्रेणीको क्लब इन्भिगाडो एफसीबाट १६ वर्षमै व्यावसायिक फुटबल करिअर सुरु गरेका रोड्रिग्वेज २००८ मा अर्जेन्टिनी टोली एट्लेटिको बान्पि्कल्डमा अनुबन्धित भएका थिए। जहाँ उनले एउटा प्रतिभावान खेलाडीको छवि बनाए। २०१० मा एफसी पोर्टो पुगेका उनले उत्कृष्ट गोलहरूमार्फत तीन सिजनमा टोलीलाई तीनपटक पोर्चुगाली लिगको उपाधि जिताए। त्यसपछि गत वर्ष उनी पोर्चुगल छाडेर मोनाको लागेका थिए।

Comments

Popular Posts