जयवर्धनेले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा
श्रीलंकाका क्रिकेटर महेला जयवर्धनेले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका जयवर्धनेले सोमबार श्रीलंका क्रिकेट बोर्डसमक्ष सन्यास लिने बताएका हुन् । दक्षिण अफ्रिका र पाकिस्तानविरुद्धको टेस्ट सिरिजपछि उनले टेस्ट क्रिकेट नखेल्ने बोर्डले जनाएको छ ।
सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनले १ सय ४५ टेस्टमा ११ हजार ४ सय ९३ रन बनाएका छन् । यसमा ३३ शतक पनि रहेको छ ।
उनकै नेतृत्वमा श्रीलंकाले यो वर्ष टी–ट्वेन्टी विश्वकप जितेको थियो भने यसलगतै उनले टि–ट्वेन्टीबाट सन्यास लिएका थिए । १८ वर्ष श्रीलंकाको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि ठूलो सम्मानको विषय भएको भन्दै जयवर्धनेले यो निर्णय लिनु सजिलो नभएपनि सन्यास लिने उचित समय यहि भएको बताएका छन् । उनले एकदिवसीय क्रिकेट भने खेल्नेछन् ।
Comments
Post a Comment