म नेता, लामा कारिन्दा : मन्त्री पौडेल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले एसियाली खेलकुद (एसियाड) को तयारीमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाएको एक दिनपछि नै मन्त्री पौडेलले त्यसको जवाफ फर्काएका छन्। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पौडले आफू खेलकुदको नेता र राखेपका सदस्यसचिव कारिन्दा भएको बताए।
'मन्त्रीको नाताले म राष्ट्रिय खेलकुदको सबै सरोकारवाला पक्षको नेता हुँ। राखेप भनेको मन्त्रालयको एउटा अंग मात्र हो। अनि राखेपका सदस्यसचिव भनेको कारिन्दा मात्र हुन्', अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातौं वार्षिक साधारणसभामा आफ्नो मन्तव्य राख्दै पौडेलले भने। उनले बाबु र छोराबीच जुहारी हुन नसक्ने धारणा व्यक्त गर्दै सदस्यसचिव लामासँग आफ्नो कुनै टकराव नरहेको दाबी पनि गरे।
एसियाड तयारीका लागि अहिले मन्त्रालय र राखेपको छुट्टाछुट्टै समिति छ। राखेप सदस्यसचिव लामाले बुधबार पत्रकार सम्मेलन गरी एसियाड तयारीमा मन्त्रालय र मन्त्रीले अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाएका थिए। उनले एसियाडका लागि आफूले गठन गरेको तयारी समिति मात्र वैधानिक भएको दाबी पनि गरेका थिए।
एनओसीको कार्यक्रममा मन्त्री पौडेलले नेपाली खेलाडी जसरी पनि एसियाडमा सहभागी हुने बताए। 'एसियाड सहभागिताका लागि हामी हरेक विकल्पमा जान तयार छौं, सरकारले आफ्नो गन्तव्य बिर्सिएको छैन', उनले भने। पौडेलले सरकारलाई सहयोग गर्न खेलकुदका राष्ट्रिय संघहरूसँग आग्रह पनि गरे।
'यो द्वन्द्वको स्थितिलाई पार गरेर अघि बढ्न सरकारलाई संघ र त्यसका पदाधिकारीको साथ चाहिन्छ', पौडेलले भने। साधारणसभामा एनओसी पदाधिकारीसहित ओलम्पिक मान्यताप्राप्त करिब दुई दर्जन खेल संघका पदाधिकारीको उपस्थिति थियो।

Comments

Popular Posts