विश्‍वकप अयोजनामा उरुग्वेको दाबेदारी

सन् २०३० को विश्‍वकप फुटबलको आयोजनाका लागि उरुग्वेले आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। विश्व फुटबल महासंघ (फिफा) का पदाधिकारीमाथि राष्ट्रपति होजे मुजिका आलोचनात्मक ढंगबाट प्रस्तुत भए पनि १६ वर्षपछि आयोजना हुने विश्वकपको अधिकार उरुग्वेले पाउने सम्भावना छ।
सन् २०३० मा विश्‍वकप फुटबल आयोजनाको एक सय वर्ष पूरा हुनेछ। त्यसैले पनि यो अधिकार उरुग्वेले पाउने प्रबल सम्भावना छ। पहिलो विश्वकप सन् १९३० मा उरुग्वेले नै आयोजना गरेको थियो, तर भौतिक पूर्वाधार र सीमित स्रोत साधनका कारण उरुग्वेसँगै अर्जेन्टिनाले पनि उक्त विश्‍वकप सहआयोजनाको अधिकार पाउन सक्ने बेलायती सञ्‍चारमाध्यमले जनाएका छन्।
सानो देश भएकाले फिफाका केही राष्ट्रले आपत्ति जनाउने सम्भावना पनि उत्तिकै छ। ३३ लाख मात्र जनसंख्या भएको उरुग्वे पहिलो र चौथो संस्करणको विजेता टोलीसमेत हो। सन् २०१८ मा रूस र सन् २०२२ मा कतारले विश्वकप आयोजनाको अधिकार पाइसकेका छन्। सन् २०२६ को विश्वकप भने अमेरिकामा आयोजना हुने सम्भावना छ।
अर्जेन्टिनी फुटबल संघका अध्यक्ष जुलियो ग्रोन्डोनाले पनि विश्‍वकप आयोजनाको एक सय वर्ष पूरा हुने अवसरमा सन् २०३० को विश्वकप आयोजना गर्न अर्जेन्टिना र उरुग्वे तयार रहेको बताएका छन्। अर्जेन्टिनाको स्थानीय रेडियोलाई दिएको अन्तर्वार्तामा ग्रोन्डोनाले यस विषयमा आफ्नो संघ र उरुग्वेको फुटबल संघबीच सम्झौता भइसकेको रहस्य पनि खोले।
हालसम्म एकपटक मात्र दुई राष्ट्र मिलेर विश्‍वकप आयोजना गरेका छन्। एसियाका दुई राष्ट्र जापान र दक्षिण कोरियाले सन् २००२ को विश्‍वकप संयुक्त रूपमा आयोजना गरेका थिए। यसै साता सकिएको विश्‍वकपमा उरुग्वेले प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

Comments

Popular Posts