प्रेमिकासँग घुम्‍न हिडेका स्वारेज फ्‍यानको घेराउमा

भर्खरै सम्पन्‍न विश्‍वकपमा इटालीका खेलाडी जर्जियो चेलिनीलाई टोकेपछि उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वारेज क्षणभरमै हिरोबाट जिरोमा पुगेका थिए। यसै विषयलाई लिएर विश्व फुटबल महासंघ (फिफा) ले स्वारेजलाई नौ अन्तर्राष्ट्रिय खेल र चार महिना फुटबल गतिविधिमा सहभागी हुनबाट प्रतिबन्ध लगायो। गल्ती स्वीकार गर्दै स्वारेजले माफी मागे पनि अबको करिब तीन महिना उनले मैदान बाहिर बिताउनुपर्नेछ।
यसबीचमा स्वारेजलाई महत्त्व दिँदै स्पेनिस क्लब बार्सिलोनाले आबद्व गरेपछि यी चर्चित फुटबलरको आलोचना मत्थर हुँदै गएको छ। स्वारेज पनि यसबाट राहत अनुभव गर्दै सार्वजनिक स्थानमा निस्कन थालेका छन्। यसैक्रममा शनिबार राति स्वारेज प्रेमिका सोफिया बाल्बीसँग स्पेनिस सहर म्याड्रिडमा घुम्न निस्किएका थिए। स्वारेजलाई देखेपछि थुप्रै समर्थक उनलाई तानातान गर्दै तस्बिर खिच्न आतुर देखिए। बच्चाबच्चीदेखि युवायुवतीसम्म स्वारेजसँग झुम्मिएका थिए।
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीको टीसर्टमा एक समर्थकलाई अटोग्राफ पनि दिन भ्याए, स्वारेजले। स्वारेजको प्रतिबन्धका कारण बार्सिलोनाले उनलाई आफ्नो जर्सीमा आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन। स्वारेजले कम्तीमा अक्टोबरको अन्तिम साताअघि बार्सिलोनाका लागि खेल्न पाउने छैनन्।
गत सिजन स्वारेजकै उत्कृष्ट प्रदर्शनका कारण लिभरपुल इङ्लिस प्रिमियर लिगको उपविजेता बनेको थियो। स्वारेज उक्त प्रतियोगितामा सर्वाधिक गोलकर्तासमेत बनेका थिए।

Comments