‘मलाई आउने भत्ता गणेश थापाले खान्छन्’
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापामाथि प्रशिक्षकलाई दिने रकममा पनि घोटाला गरेको आरोप लागेको छ।
एन्फाभित्र आर्थिक पारदर्शिताको विषयलाई लिएर उपाध्यक्ष कर्माछिरिङ शेर्पासहितका पदाधिकारी आन्दोलनमा उत्रिएका छन्।
एन्फाका टेक्निकल डाइरेक्टर कृष्ण थापाले पनि पदबाट राजीनामा दिएका छन्। उनले १५ दिनअघि दिएको राजीनामा स्विकृत भने भएको छैन्।
एएफसीबाट मासिक १५ सय डलर तलबसुबिधा आएपनि त्यो आफूले नपाएको भन्दै थापाले सेतोपाटीसँग गुनासो गरे।
उनले भने ‘मलाई एएफसीबाट मासिक १५ सय डलर सुविधा आउँछ, तर गणेश थापाले जम्मा ८० डलरमात्र दिएका छन्।’
थापाले आफूलाई एएफसीबाट आउने गरेको रकम पुरै दिन आग्रह गर्दा गणेश थापाले अन्य प्रशिक्षकलाई पनि बाँडेको हुँदा दिन नमिल्ने बताएको सुनाए।
युथ प्रशिक्षकलाई पनि मासिक सय डलर आएपनि थापाले ३० डलरमात्र दिने गरेको सुनाए। ६ महिनादेखि भने थापाले ५० डलर दिइरहेको उनले बताए।
एन्फाका देश भरी ३६ जना प्रशिक्षक छन्। एन्फाको टेक्निकल डाइरेक्टर आफू भएपनि राष्ट्रिय टिम छनौट गर्दा आफूलाई सहभागी नगराउने, अण्डर टुभेल, फिफ्टीन छनौटमा पनि बाइपास गर्ने, विदेशी प्रशिक्षक मगाउँदा गणेश थापाले एक लौटी निर्णय गर्ने गरेको उनले बताए।
वर्तमान फुटबलका प्रशिक्षक ज्याक स्टेफेनोस्की ल्याएको भन्दै उनले आपत्ती जनाएका छन्। ज्याक नेपाली फुटबल प्रशिक्षकमा असफल भएका कारण उनलाई फेरी बोलाउन नहुने र अर्को राम्रो प्रशिक्षक ल्याउनुपर्ने उनले बताए। ज्याकसँग प्रशिक्षकको सर्टिफिकेट नभएको उनले दाबी गरे। थापा २८ वर्षदेखि फुटबल प्रशिक्षक छन्।
Comments
Post a Comment