रहस्यमय बन्दै कतारको प्रतिभा खोजी अभियान

विश्‍व फुटबलमा कम परिचित राष्ट्र हो, कतार। एसियाली फुटबलमा समेत यो देशको प्रभाव खासै देखिँदैन। तैपनि सन् २०२२ को विश्‍वकप आयोजनाको अधिकार यही अरब राष्ट्रले पाएको छ। यसको अर्थ हो, सन् २०२२ को विश्‍वकप कतारले पनि खेल्नेछ, आयोजकको हैसियतले। भौतिक पूर्वाधार र आर्थिक स्रोतसाधनमा बलियो भए पनि विश्‍वकपमा राष्ट्रिय टोलीको उपस्थिति कतारका लागि अवसरभन्दा बढी चुनौतीका रूपमा रहेको छ। यसलाई कतार आफैंले पनि स्वीकार गरेको छ। त्यसैले त्यसको तयारीका लागि कतार अहिलेदेखि नै टोली तयारी अभियानमा जुटिसकेको छ।
यसैक्रममा अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्सले कतारको राष्ट्रिय टिम तयारीको विषयमा हालै प्रकाशित गरेको एक समाचारले निकै चर्चा बटुलेको छ। उक्त अखबारका अनुसार कतारले सन् २०२२ को विश्वकपलाई ध्यानमा राखी विगत सात वर्षदेखि विश्‍वभरबाट किशोर प्रतिभा छनोट गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। 'एस्पायर फुटबल ड्रिम्स प्रोगाम' नाम दिइएको उक्त अभियानका लागि कतारले विशेषज्ञको टोली बनाएर विभिन्‍न देशबाट फुटबलका किशोर प्रतिभा खोजेको थियो।
करिब ३५ लाख किशोरबाट प्रशिक्षण कार्यक्रमका लागि भविष्यका खेलाडी छनोट गरिएको थियो। 'एस्पायर फुटबल ड्रिम्स प्रोगाम' का अधिकारीले बताएअनुसार छनोट हुने अधिकांश किशोर अफ्रिकी महादेशका छन्।
उनीहरूलाई खाना, बस्न र नि:शुल्क शिक्षाको व्यवस्था गरिएको छ। ती किशोरका लागि मासिक भत्ताको समेत व्यवस्था गरिएको छ। प्रशिक्षणमा राखिएका किशोरका परिवारले पाँच हजार डलरसम्म सहयोग पनि पाएका छन्। उनीहरूलाई दोहा र सेनेगलमा रहेको एकेडेमीमा राखिएको छ।
युरोपका ठूला क्लबमा प्रशिक्षण गराइसकेका प्राविधिकहरूको टोलीले ती किशोरलाई फुटबलको कला सिकाइरहेका छन्। कतारले अन्य खेलमा विभिन्न देशका खेलाडीलाई आफ्नो नागरिकता दिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएको उदाहरण अघि सार्दै न्युयोर्क टाइम्सले यो कार्यक्रम पनि त्यही प्रयोजनका लागि हुनसक्ने आशंका गरेको छ। यो कार्यक्रमबाट तयार भएका केही टिम अहिले विश्वका राम्रा किशोर टोलीमा पर्ने गरेको न्युयोर्क टाइम्सले जनाएको छ।
प्रशिक्षण कार्यक्रमका निर्देशक आन्द्रियास ब्लेचर भने विदेशी खेलाडीलाई प्रशिक्षण गराएर कतारको राष्ट्रिय टोलीमा समावेश गर्ने कुनै योजना नरहेको दाबी गर्छन्। 'यदि हामीले केही खेलाडीलाई राष्ट्रिय टोलीमा राख्यौं भने के होला, अनुमान गर्नुभएको छ? सबै मिलेर हामीलाई मार्नेछन् अनि अरू रमिते बन्नेछन्। हामी मूर्ख छैनौं', उनी भन्छन्। कतारका किशोर खेलाडीलाई प्रशिक्षण गर्न सजिलो होस् भनेर मात्र यो अभियान सुरु गरिएको उनको दाबी छ। 'अफ्रिकी खेलाडीसँग राखेर प्रशिक्षण गराउँदा हाम्रा खेलाडीको पनि स्तर वृद्धि हुन्छ। त्यसैले यो कार्यक्रम सञ्‍चालन गरिएको हो', उनले भने।
न्युयोर्क टाइम्सले कतारको यो अभियानलाई 'भ्रष्टाचार' सँग जोडिएको हुनसक्ने आशंका पनि व्यक्त गरेको छ। फिफाले सन् २०२२ को विश्‍वकप आयोजक छान्‍नका लागि भएको मतदानका समयमा कतारले अफ्रिकी देशमा यो कार्यक्रम सञ्‍चालन गरेर त्यहाँका मतदातालाई प्रभावित बनाउन खोजेको आशंका न्युयोर्क टाइम्सको छ। कतारले भने यसको खण्डन गर्दै खेलकुदप्रति राजपरिवारको मोहका कारण यस्तो कार्यक्रम सञ्‍चालन गरिएको दाबी गरेको छ।

Comments