‘थ्याङ्क यू अर्जेन्टिना'
विश्वकप फाइनल खेलेर फर्केको अर्जेन्टिनी फुटबल टोलीलाई सोमबार हजारौं समर्थकले भव्य स्वागत गरेका छन्। खेलाडी लिएर ब्युनस आयर्स पुगेको हवाइजहाजमा खेलाडीको तस्बिर पेन्टिङ गर्नुका साथै ठूलो अक्षरमा ‘थ्याङ्क यू अर्जेन्टिना' लेखिएको थियो।
भावुक अर्जेन्टिनी समर्थकले आकासे–नीलो–सेतो राष्ट्रिय टोलीको जर्सी लगाएर खेलाडीको स्वागत गरेका थिए। टोलीलाई विमानस्थलबाट अर्जेन्टिनी फुटबल संघको कार्यालयसम्म लगिएको थियो।
तिमीहरूले साहसिक प्रदर्शन गर्यौ, धैर्यताको प्रदर्शन गर्यौंक, जतिसक्दो आफ्नो तर्फबाट प्रयास गर्यौं,' अर्जेन्टिनाकी राष्ट्रपति क्रिस्टिना फर्नान्डेजले फुटबल संघको कार्यालयमा टोलीलाई स्वागत गर्दै भनिन्। उनले थपिन्, ‘अर्जेन्टिनी हुनुको अर्थ तिमीहरूले दिएका छौं। गुमेको आत्मसम्मान फर्काउने प्रयास गरेका छौं। एउटै मात्र कुरा भनेको विश्वकप जित्न सकेनौं। यद्यपि त्यहाँसम्म पुग्न टोलीले आफ्नो स्तरीयता प्रदर्शन गरेको छ। त्यसैले ४ करोड देशवासीको तर्फबाट म टोलीलाई धन्यवाद दिन चाहन्छु।'
दुईपटकको विश्वकप विजेता अर्जेन्टिना फाइनल पुग्दा निकै दबाबमा थियो। किनकि जर्मनी सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ ले हराउँदै फाइनल पुगेको थियो। अर्जेन्टिनाले फाइनलमा १–० को झिनो हार बेहोरेको हो। अर्जेन्टिनाले पनि मौका पाउनाका बाबजुद गोल गर्न सकेन।
‘म सबैलाई धन्यवाद दिन चाहन्छु। हामी विश्वकप घर ल्याएर सबैलाई खुसी पार्न चाहन्थ्यौं,' विश्वकपका उत्कृष्ट खेलाडी लियोनल मेसीले भने, ‘हामीले प्रयास पनि गर्यौं्। हामीले सक्दो प्रयास गर्यौंप, सफल हुन सकेनौं। त्यसबाहेक हामी फाइनलसम्म पुग्नु पनि ठूलो उपलब्धि हो। कठिन चुनौती पार गर्दै त्यहाँसम्म पुग्न सफल भयौं।'
अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९० को विश्वकप फाइनल खेलेको थियो। टोली पश्चिम जर्मनीसँग पराजित भएको हो। त्यसको चार वर्षअघि (१९८६) डिएगो म्याराडोनाको कप्तानीमा टोलीले दोस्रो पटक विश्वकप उपाधि जितेको थियो। त्यति बेला पनि जर्मनी नै फाइनल प्रतिद्वन्द्वी थियो।
फाइनलको दिन हजारौं समर्थक दुःखी भए। तर २४ वर्षयता उच्च प्रदर्शनसाथ फाइनल पुगेकोमा धेरै समर्थक खुसी साट्न टोलीको स्वागतमा पुगेका थिए। खुसियालीमा सडकमा कारका हर्न बजाउनेदेखि आतिशबाजी पनि गरियो। सबै उमेरका समर्थक उफ्रदै चर्को आवाजमा अर्जेन्टिना, अर्जेन्टिना भनिरहेका थिए।
‘हामीले पछुताउनुपर्ने केही छैन। हामी स्तरीय प्रदर्शन गर्यौंस,' ६ वर्षे छोरी काँधमा बोकेर टोलीको स्वागतमा आएका ५३ वर्षे होरासियो लासिरासले भने। अर्जेन्टिना पराजित भएपछि दंगासमेत भयो। स्थिति नियन्त्रणमा लिन पुलिसले अश्रु ग्यासका साथै रबरका गोली प्रहार गर्नुपरेको थियो। रेलिङ भाँचिएका थिए भने ढुंगा प्रहार भएको थियो। घटनामा सुरक्षाकर्मीले १ सय २० जनालाई पक्राउ गरेको थियो।
Comments
Post a Comment