चेल्सी फर्किन ड्रोग्बा इच्छुक
स्ट्राइकर डिडियर ड्रोग्बा एक वर्षका लागि चेल्सी फर्किनेमा विचार गरिरहेका छन् । आइभोरी कोस्टका अन्तर्राष्ट्रिय खेलाडी ड्रोग्बा गालाटासारे छाडेयता क्लब बिहीन छन्।
२०१२ को च्याम्पियन्स लिग फाइनलमा बार्यन म्युनिखविरुद्ध पेनाल्टी शुटआउटमा विजयी गोल गरेपछि ड्रोग्बाले चेल्सी छाडेका थिए। ड्रोग्बाका प्रतिनिधिले निर्णय अझै भइनसके पनि चेल्सी पनि एक विकल्प भएको बताए। चेल्सीमा आउनलाई छलफल भइरहेको र अर्को हप्ता ड्रोग्बा लन्डन आउने सम्भावना रहेको जनाइएको छ।
ब्राजिलमा भर्खर समपन्न विश्वकपमा ड्रोग्बा आइभोरी कोस्टको टोलीमा थिए। उनले १ खेल पहिलो रोजाइबाट खेले भने बाँकी २ खेलमा वैकल्पिक खेलाडीको रुपमा सहभागिता जनाए। आइभोरी कोस्टले एक खेलमात्र जित्न सकी समूहचरणबाटै बाहिरियो।
सन् २००४ को जुलाईमा २ करोड ४० लाख पाउन्डमा ड्रोग्बा फ्रान्सेली टोली मार्सेबाट आएकापछि चेल्सीलाइ ३ प्रिमियर लिग, ४ एफए कप, २ लिग कप र १ च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसपछि उनी चीन लागेका थिए।
गत सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सीसँग पराजित हुँदा उनले गालाटासारेबाट खेलेका थिए। यो खेल सुरु हुने अघि चेल्सीका व्यवस्थापक जोजे माउरिन्होले ड्रोग्बालाई अझै पनि विश्वको एक उत्कृष्ट स्ट्राइकर भनी सम्मान गरेका थिए। ड्रोग्बाको अहिले पनि लन्डनसँग निकटता रहेको छ र उनले हालै एक अन्र्तवार्तामा भनेका थिए, 'जुन क्लबमा कुनै खेलाडी खुशी हुन्छ, त्यो अर्कोमा जान खोज्दैन् । तर कहिले काँही तपाईले सोचेजस्तो सबै हुँदैन् ।'
Comments
Post a Comment