एक्लै अभ्यास गर्दै डी मारिया
अर्जेन्टिनी टोलीका मुख्य हतियार मानिएका एन्जल डी मारिया अहिले आइतबार हुने फाइनल खेलका लागि तयारी गर्दैछन्। अर्जेन्टिनाका प्रशिक्षक अलेज्यान्ड्रो सावेलाले डी मारिया जर्मनीविरुद्धको फाइनल खेलमा मैदानमा उत्रने बताएका छन्। डी मारियालाई अहिले टोलीभन्दा छुट्टै राखेर अभ्यास गराइँदैछ। एक्लै अभ्यास गरिरहेका उनी फाइनल खेलसम्म पूर्ण रूपमा स्वस्थ भइसक्ने दाबी प्रशिक्षक सावेलाले गरेका छन्। सामान्य घाइते भएका टोलीका स्टार स्ट्राइकर लियोनल मेसीलाई भने बुधबार र बिहीबार सामान्य अभ्यासमात्र गराइयो।
मेसीलाई फिजियोको सल्लाहअनुसार सामान्य अभ्यासमात्र गराइएको हो। नेदरल्यान्ड्सविरुद्धको सेमिफाइनल खेलका क्रममा अर्जेन्टिनालाई डी मारियाको अभाव खड्किएको थियो। निर्धारित र अतिरिक्त समयमा नेदरल्यान्ड्सको तुलनामा कमजोर प्रदर्शन गरेको अर्जेन्टिना पेनाल्टी सुटआउटमा भाग्यमानी बनेको थियो। डी मारिया बेल्जियमविरुद्धको क्वार्टरफाइनल खेलका क्रममा दायाँ पिँडुलामा चोट लागेर घाइते भएका थिए। उनको पिँडुलाको मांशपेसी च्यातिएको थियो।
Comments
Post a Comment