ब्राजिलसँगको क्वाटर फाइनल भिडन्त हेर्न कोलम्बियामा सार्वजनिक विदा

विश्वकप फुटबलमा ब्राजिल विरुद्धको क्वाटर फाइनल खेल हेर्नका लागि कोलम्बियामा सवै कार्यालयहरुमा आधा दिन विदाको घोषणा गरिएको छ । कोलम्बियाका राष्ट्रपति  युयान म्यानुएल सान्तोषले शुक्रबार दिउँसो १ बजेपछि सार्वजनिक विदाको घोषणा गर्नुभएको हो । कोलम्बियाको समय अनुसार विश्वकपको क्वाटर फाइनलमा ब्राजिल र कोलम्बियाबीचको खेल दिउँसो ३ बजे (नेपाली समय राती पौने २ बजे ) सुरु हुने छ ।
कोलम्बियाको राष्ट्रिय रेडियो आरसिएनबाट सन्देश दिँदै उहाँले भन्नुभयो ‘म सबै सरकारी कर्मचारीका लागि शुक्रबार दिउँसोपछि सार्वजनिक विदाको घोषणा गर्छु ।’ सबै कोलम्बियाका नागरिकले विश्वकपमा ब्राजिलसँगको खेल हेरुनु भनेर सार्वजनिक विदाको घोषणा गरेको उहाँले बताउनुभयो । सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित कार्यालय भने खुला हुने छन् । उहाँले स्थानीय नगरपालिका र तथा स्थानीय निकायका साथै निजी संघसंस्थालाई पनि विदा दिन आग्रह गर्नुभयो  । पाँच पटक विश्वकप जितिसकेको ब्राजिलसँग भिड्न लागेको कोलम्बिया पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । सन् १९९० मा प्रिक्वाटर फाइनल अर्थात अन्तिम १६ मा पुगेपनि कोलम्बिया त्यसअघि चरणबाटै घर फर्किएको थियो । कोलम्बियाको विश्वकपमा यो पाँचौ सहभागिता हो । ब्राजिल र कोलम्बियाबीच यसअघि २५ पटक खेल भइसकेको छ । जसमध्ये ब्राजिल १५ खेलमा विजयी भएको छ भने कोलम्बिया २ पटक विजयी भएको छ । ८ खेल भने बराबरीमा सकिएका छन् । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४, र २००२ गरी ५ पटक विश्वकप जितेको छ ।

Comments

Popular Posts