विश्वकप गराउन ब्राजिल तयार

ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले आफ्नो देश विश्वकप फूटबलका लागि पूर्ण रुपमा तयार रहेको बताउनुभएको छ ।
विश्वकप शुरु हुनै लाग्दा भएको विरोधप्रति संकेत गर्दै उहाँले ब्राजिली नागरिकको दृढ संकल्पका कारण निराशावादीहरुको पराजय भएको टिप्पणी पनि गर्नुभयो ।
टेलिभिजन मार्फत गरिएको संबोधनमा उहाँले विश्वकपको आयोजनामा अनावश्यक खर्च गरिएको भन्ने आरोपको खण्डन गर्नुभयो । ब्राजिलमा झण्डै एक वर्ष यता विश्वकपमा अनावश्यक खर्च गरेको तर स्वास्थ्य शिक्षा जस्ता महत्वपूर्ण विषयमा ध्यान नदिएको भन्दै प्रदर्शन हुँदै आएको छ ।
विश्वकप फूटबलका लागि बनेका भौतिक पूवार्धारहरु दीर्घकालका लागि देशकै सम्पत्ति भएको भन्दै उहाँले भन्नुभयो ‘ब्राजिल घुम्न आउनेहरुले पूर्वाधार परियोजनाहरु आफ्ना सुटकेशमा राखेर लैजाँदैनन्, यी देशवासीलाई फाईदा पुग्ने गरी सधै रहिरहन्छन् ।’
उहाँले शिक्षा र स्वास्थ्यमा गरिएको लगानी स्टेडियम निर्माणमा खर्च गरिएको भन्ने कुराको खण्डन गर्दै सन् २०१० देखि २०१३ को बीचमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरिएका लागनी स्टेडियम निर्माणको लगानी भन्दा धेरै गुणा बढी रहेको स्पष्ट पार्नुभयो ।

Comments