पुवुदको करार थपेर फिर्ता बोलाउने सरकारको तयारी

सरकारले क्रिकेट टोलीका प्रशिक्षक पुवुद दसानायकेको म्याद थप गरेर फिर्ता बोलाउने तयारी गरेको छ  । क्रिकेट संघ क्यानले आर्थिक अभावमा पुवुदको सम्झौता थप गर्न नसकेको बताएको भोलिपल्ट खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुवुदको सम्झौता थपका लागि सरकार आफैंले निर्णय गर्ने तयारी गरेको बताउनुभएको छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै मन्त्री पौडेलले भन्नुभयो– राम्रा प्रदर्शनका लागि योगदान दिएका प्रशिक्षकको म्याद नथप्ने कुरै छैन, क्यान र परिषद्ले नगरे अब सरकारले निर्णय गर्नेछ ।
सरकारले निर्णय लिन केही कानून समस्या रहेकाले थप छलफल गरेर टुङ्गोमा पुग्ने खेलकुद मन्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, पुवुदसँग सम्झौताका लागि चाहिने रकमलाई अर्थमन्त्रालयलाई आग्रह गरिसकिएको छ । खेलकुद मन्त्रालयले पुवुदको म्याद एक बर्ष थप्न निर्देशन दिए पनि खेलकुद परिषद् र क्यानले तीन महिना मात्र समय बढाएर आफूहरुलाई झुक्याएको मन्त्रीको भनाइ छ ।
यसैवीच, अर्थमन्त्री रामशरण महतले क्यानसँग पैसा नभए सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको हो । सामाजिक सञ्जाल ट्विटरमा अर्थमन्त्री महतले प्रशिक्षक पुवुदलाई गुमाउन नहुने भन्दै क्यान पैसा तिर्न सक्षम नभए सरकारले सहयोग गर्ने उल्लेख गर्नुभएको छ । पुवुदको हिजो समयावधि सकिएपछि क्यानले आर्थिक अभावका कारण उनलाई ल्याउन नसकिएको बताएको थियो । सम्झौता नवीकरणको अन्योल कायम रहँदा पुवुद अघिल्लो महिना क्यानडा गएपछि नेपाल फर्किएका छैनन् । नेपाली टीमका कप्तान पारस खड्काले पुवुदलाई फिर्ता नबोलाए क्रिकेट नखेल्ने घोषणा गरेका छन् । 

Comments

Popular Posts