अर्जेन्टिना र इंग्ल्याण्डको भिडन्त हेर्ने चाहन्छन् गगन थापा

दीपेन्द्र सापकाेटा :-
आइएस्सी पढ्दासम्म गगन थापा आफै पनि फुटबल खेल्थे । “सानो गौचरमा कुमार थापा (पूर्व राष्ट्रिय खेलाडी) सँगै म पनि फुटबल खेल्थें,” गगन थापाले भने, “पछि कलेजमा विद्यार्थी राजनीति शुरु गरेपछि पढाई र राजनीतिको व्यस्तताले फुटबललाई समय दिन सकिएन ।”
अहिले पनि भ्याएसम्म थापाले नेपाली टोली सहभागी भएका फूटबल खेल हेर्छन् । अघिल्लो संविधानसभा निर्वाचनपछि भएको सभासद् र कलाकार बीचको मैत्रीपूर्ण खेलमा उनले सभासद्का तर्फबाट गोल समेत गरेका थिए ।
१९८६ मा मेक्सिकोमा भएको विश्वकप समेत हेरेको सम्झदै थापा भन्छन्, “उती बेला घरमा टेलिभिजन थिएन, काकाको घरमा गएर ब्राजिल र अर्जेन्टिनाबीचको खेल हेरेको थिएँ ।”
म्याराडोनाको दबदबा रहेको उक्त खेलमा ब्राजिलले प्यानल्टी सुटआउटमा हार्दा दुखी भएको उनको मनमा ताजै छ । “त्यसबेलादेखि नै म ब्राजिलको डाइहार्ट फ्यान हुँ, ब्राजिलका खेलाडीले प्यानल्टी मिस गरेपछि त्यो म्याच अर्जेन्टिनाले जित्यो ।”
यसपटक ब्राजिलले घरेलु मैदानमा आयोजना हुने विश्वकप जितेर राष्ट्रिय एकता बलियो पार्ने थापाको अपेक्षा छ ।
ब्राजिललाई सँधैको सशक्त टीम बताउने थापा गृह मैदानमा हुने खेलको फाइदा उठाउँदै ब्राजिलले विश्वकप फुटबल–२०१४ को उपाधि जित्नेमा ढुक्क छन् ।
विगतका विश्वकपमा जस्तो रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लोस, रोनाल्डिन्हो, काफु, काका जस्ता नाम चलेका तथा अनुभवी स्टार खेलाडीहरु टीममा नभए पनि नेइमार जस्ता खेलाडीको उत्कृष्ट प्रदर्शनले ब्राजिल विजयी हुने थापाको बुझाई छ ।
गतवर्ष अन्तर्महादेशीय कपमा जस्तै उत्कृष्ट प्रदर्शन गरेर यसपटक पनि नेइमारले गोल्डेन बल जित्ने आशा ब्यक्त गर्दै थापाले भने, “ब्राजिलले छैटौं विश्वकप ट्रफी उचालोस्, नेइमारले गोल्डेन बल पाओस् ।”
गगन थापाका ‘बेष्ट खेलाडी’ पनि ब्राजिलकै नेइमार हुन् । २२ वर्षको उमेरमै ३१ अन्तराष्ट्रिय गोल गरेका नेइमारबारे थापाले भने, “स्टा«इकरको सबभन्दा ठुलो स्कील नै गोल गर्नु हो, जुन क्षमता नेइमारमा छ ।”
थापाको दोस्रो रोजाइको टीम भने पोर्चुगल हो । ब्राजिल नहुने भएकोले युरो कपमा सधै पोर्चुगलको समर्थन गर्ने थापाले भने, “युरोकपमा ब्राजिल हुँदैन त्यसैले मेरो समर्थन पोर्चुगललाई जान्छ ।”
क्रिष्टियानो रोनाल्डोलाई पोर्चुगलको ‘वान म्यान आर्मी’ भन्दै थापाले थपे, “रोनाल्डोको खेलबाट पनि म मोहित हुन्छु ।”
तर पोर्चुगल अन्य दाबेदार भन्दा कमजोर रहेको भन्दै उसले विश्वकप जित्ने सम्भावना कम भएको थापा बताउँछन् ।
आफूलाई ब्राजिलको ‘डाइहार्ट’ फ्यान बताउने थापाले अर्जेन्टिनी टोलीमा पनि प्रशस्तै राम्रा खेलाडीहरु रहेकोे बताए ।
अर्जेन्टिनाका खेलाडीहरुले क्लब फुटबलमा गरेको प्रदर्शन अहिले विश्वकपमा गर्न सकेमा उपाधि भिडन्तमा ब्राजिललाई चुनौति दिनसक्ने उनको भनाई छ । थापाले भने, “अर्जेन्टिनामा मेसी छन्, अन्य खेलाडीले पनि क्लबमा राम्रो खेल्छन तर, उनीहरु एउटा टीमको रुपमा राम्रो गर्न सकिरहेका छैनन् ।”
त्यसैगरी स्पेनको टोलीले पनि प्रतिस्पर्धामा ब्राजिल र अर्जेण्टिनालाई कडा टक्कर दिने बताउँछन् थापा । “स्किल र अनुभवका आधारमा अहिलेका स्पेनी खेलाडीहरु धेरै राम्रा छन्,” थापाले भने,“स्टार खेलाडी भएको र साविक विजेता स्पेनलाई ब्राजिल र अर्जेन्टिनालाई जस्तै प्रतियोगिता जित्न दबाब छ ।”
थापालाई अर्जेण्टिना र इंग्ल्याण्डबीचको खेल हेर्ने निकै रहर छ । ‘फकल्याण्ड विवाद’ मा अल्झिएका दुई देश आमने–सामने भए भने खेल निकै रोचक हुने उनी बताउँछन् ।

Comments

Popular Posts