गणेश थापालाई कहिलेसम्म उन्मुक्ति दिने ?

बिष्णुहरि घिमिरे

विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्व कपको चर्चाबाट नेपाली खेलकुद अछुतो रहने कुरै भएन । त्यसका साथ साथै नेपाली खेलकुदमा अहिले अन्य तीन पक्ष पनि सर्वाधिक चर्चामा रहेका छन् । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको जुहारीमा कसले बाजी मार्ने हो पर्खाइको विषय बनेको छ ।

यस्तै नेपाल क्रिकेट संघ क्यानमा भएको चरम भ्रष्टाचारका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष टंक आङबुहाङ सहितका अन्य पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गराए पछि नेपाली क्रिकेट राजनीति अब कसरी अगाडी बढ्छ भन्ने चासोको विषय बनेको छ । त्यसका साथै अर्को चर्चाको विषय अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाको अर्को घुस काण्ड बनेको छ ।

नेपाली फुटबलमा बीस बर्षदेखि एक छत्र राज गर्दै आएका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाको दोस्रो अन्तर्राष्ट्रिय भ्रष्टाचार काण्ड सार्वजनिक भएको छ । सन् २०२२ को फिफा विश्व कप कतारलाई दिलाउने क्रममा झण्डै पौने दुई करोड रुपैया"मा भोट बेचेको आरोप उनीमाथि लागेको छ । थापाका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुककै बदनाम हुने यस्तो घटना सार्वजनिक भएको यो नै पहिलो पटक होइन । त्यसो त घर भित्र पनि थापाले फुटबलको मार्फत आफ्नो पुस्तौंलाई पुग्ने गरि सम्पत्ति जम्मा गरे पनि उनी माथि कुनै निकायले छानविन सम्म गर्न सकेको छैन ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निर्वाचनका क्रममा फिफा अध्यक्ष पदका प्रत्यासी एसियाली फुटबल महासंघका तत्कालिन अध्यक्ष एवं कतारी नागरिक मोहम्मद विन हमामबाट थापाका जेठा छोरा गौरव थापाको बैंक खातामा एक लाख अमेरिकी डलर जम्मा भएको सर्वाजनिक भएको थियो । सोही घटनाका कारण गौरवले एएफसीको आकर्षक जागिरबाट हात धुनु प¥यो । तर देशकै भोट बेचेको जस्तो मामलमा मुलुक भित्र थापालाई कसैले औला उठाउने आट गर्न सकेन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले घटनाका बारेमा स्पष्टिकरण माग्दै पत्र पठाएर पनि पछि आफूले पत्र पठाएको हैन भन्नु पर्ने अवस्था आएको थियो ।

नेपाली फुटबलका लागि फिफा र एएफसीबाट आधिकारिक रुपमा बार्षिक बजेट कति आउछ त्यो थापा परिवार बाहेक अन्यलाई थाहा हुने नै भएन । किनकी एन्फाको मुख्यालय ललितपुरको सातदोबाटोमा भए पनि अन्तर्राष्ट्रिय निकायबाट आउने फ्याक्स थापाको काठमाडौं स्थित नीजि निवासमा आउने गर्दछ । थापाले नेपालमा देखाउने र फिफा तथा एएफसीलाई पठाउने गरी दुई वटा अडिट रिपोर्ट बनाउने गरेको तथ्य पनि सार्वजनिक भईसकेको छ ।

उक्त समय नेपालमा महिला फुटबल नै नभएको समयमा पनि महिला फुटबल प्रतियोगिता गराएको भन्दै रिपोर्ट बुझाउने गरिएको फेला परेको थियो ।

एन्फा अध्यक्षको रुपमा दुई दशक बिताएका थापा घरभित्र पनि पटक–पटक आर्थिक विवादमा मुछिने गरेका छन् । पहिलो पटक उनी फिफा गोलप्रोजेक्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुछिएका थिए । पछिल्लो पटक प्रतियोगिता आयोजनाबाट जम्मा भएको भनिएको आठ करोड एन्फाको पैसा आफ्नो नीजि खातामा राखेको भन्दै थापा विवादमा आए । अन्तर्राष्ट्रिय निकायले उनीलाई छानविनको दायरामा ल्याएको समयमा आठ करोड फुटबलको रकम आफूसँग रहेको बताएका थिए ।

तर पछि त्यो रकम कहा गयो अहिलेसम्म कसैले सोध्न सकेको छैन । उनले दुइ बर्ष अघि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनमा सो रकम खर्च गरिने बताएका थिए । थापा पहिलो पटक एन्फा अध्यक्ष हुँदा मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था थियो । २०५१ सालमा एमालेको नौ महिने शासनकालमा केशब स्थापित राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव हुँदा थापा एन्फा अध्यक्ष बनेका थिए । त्यसपछि मुलुक शाही शासन, लोकतन्त्र हुदै अहिले गणतन्त्रमा पुगेको छ । तर यी चारैवटा शासन ब्यवस्थामा गणेश थापा जमिरहेका छन् । यो बीचमा फुटबलकर्मीबाटै भएको दुई वटा आन्दोलनलाई पनि उनले किनारा लगाए ।

जानकारहरु भन्छन् समय र परिस्थिती अनुसार आफूलाई परिवर्तत गर्न सिपालु व्यक्तिमा थापा गनिन्छन् । साम र दामको राम्रैस"ग प्रयोग गर्न जानेका थापाले सुरुमा व्यक्तिको कमजोरी पत्ता लगाउने र त्यसको उपयोग गर्ने गर्दै आएका छन् । त्यसो त नेपाली राजनीतिका अर्का कुशल खेलाडी कमल थापाका सहोदर भाइ भएकाले पनि गणेश थापालाई केही दिव्यज्ञान आफ्नै दाजुबाट आउने गरेको बताइन्छ । थापा शासन ब्यवस्था परिवर्तन सँगै नया" शक्तिको नजिक जसरी पनि पुग्ने र त्यसमा प्रभाव जमाउन सफल हुँदै आएका छन् । त्यसले गर्दा पनि उनका कमजारी अहिले सम्म ढाकछोप हँुदै आएको छ ।
नेपाली फुटबल थापा बन्धुहरुका लागि पारिवारिक व्यापार भएको छ ।

कमल थापा एन्फा अध्यक्षको रुपमा दश बर्ष रहे । २०४६ सालको राजनैतिक परिवर्तनस"गै केही समय थापा परिवारबाट नेपाली फुटबल मुक्त भए पनि २०५१ सालबाट पुन थापाहरुकै नियन्त्रणमा नेपाली फुटबलको भविश्य गएको थियो । गणेश थापा आफूले २४ सै घण्टा फुटबल बाहेक अरु केही नसोच्ने कुरा पटक पटक दोहो¥याउने गर्दछन् । उनले आफ्नो अरु कुनै व्यापार व्यवसाय पनि नभएको र फुटबलमा स्वयंसेवकको रुपमा काम गरेको पनि भन्न छुटाउदैनन् ।

थापासँग अहिले काठमाडौमा पुख्र्यौली बाहेक आफैले बनाएको महल छ । चार–चार वटा कार छन् । बैक ब्यालेन्स नेपालमा कति नेपाल बाहिर कति भन्ने अहिले सम्म खोजी भएको छैन । थापाका दुई छोरा छन् । परिवारका सबै सदस्यको जीवनी आलिशान रहने गरेको छ । स्वयं सेवकको रुपमा २४ सै घण्टा फुटबलमा लाग्ने व्यक्तिका लागि दैनिक लाखौ खर्च कहाँबाट आयो ? नेपालमा एकाध करोड सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै नेता तथा कर्मचारी जेल चलान भइरहेका छन् ।


तर थापाले फुटबलको आठ आठ करोड रुपैया व्यक्तिगत खातामा राख्दा र त्यस पछि पनि त्यो रकम कहा छ भन्ने टुंगो नहुदाँ पनि उनी माथि छानविन भएको छैन । एकाध अन्तर्वातामा थापाले आफ्नो सम्पत्तिको स्रोत फिफा र एएफसीको बैठकमा पाएको भत्तालाई बताउने गरेका छन् । तर उनले त्यो भत्ता कुन मुद्रामा पाउँछन र त्यसलाई कसरी नेपाल भित्राउछन भन्ने कसैले चासो राखेको पाइँदैन । गल्फ मुलुकमा मजदुरी गरेर कमाएको पैसा नेपाल पठाउदा कर तिर्नु पर्ने तर गणेश थापाले फिफा र एफसीको बैठक भत्ता नेपाल भित्राउँदा कर तिर्नु नपर्ने दोहोरो व्यवस्था भइरहेको छ । अर्को पाटो विदेशी मुद्रा आफूखुसी भित्राउन थापाले बाराम्वार कसरी छुट पाइरहेका छन् ।

थापाले लामो समयदेखि एन्फामा चरम आर्थिक अनियमिता गरको भन्दै त्यसमा छानविन गर्न अहिले एन्फाका उपाध्यक्ष विजय नारायण मानन्धर र कर्माछिरिङ शेर्पा लगायतले अख्तियारमा पुगेरै उजुरी दिएका छन् । यस अघि पटक–पटकका आर्थिक अनियमिताका घटनालाई थापाले सजिलै पन्छाउदै आएका छन् । अझ भनौ दलका नेता, प्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारी, अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धिकरण आयोग सबैका नजरमा गणेश थापाले गर्दै आएका आर्थिक अनियमिताका कार्य प्राथमिकताको विषयमा पर्ने गरेको छैन ।

थापाको हाल कायम रहेको सम्पत्ति र त्यसको स्रोत मात्र खोज्ने हो भने पनि नेपाली फुटबलले ठूलै राहत पाउने थियो । तर अहिले सम्म सम्बन्धित निकाय लगभग आखा चिम्लिएको स्थितिमा रहेको छ । क्रिकेटमा ढिलै भए पनि कदम चालेको अख्तियार अब फुटबलमा पनि आउला या गणेश थापाले फेरी पनि उन्मुक्ति पाउलान् ?

Comments

Popular Posts