अल्जेरियाका प्रशिक्षकले १९८२ को घटना नबिर्सने
अल्जेरियाका प्रशिक्षक भाहिद हालिहोड्जिकले स्पेनमा भएको १९८२ को विश्वकपको घटना कहिल्यै नबिर्सने बताएका छन्। विश्वकपको प्रिक्वार्टरफाइलमा अल्जेरियाले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार राती रसियासँग १–१ को बराबरी गरेपछि अल्जेरियाले पहिलोपल्ट विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो।
३२ वर्षअघि पश्चिम जर्मनीले अस्ट्रियालाई १–० ले मात्र हराएपछि अल्जेरिया समूह चरणबाट बाहिरिएको थियो। भाहिदले भने, 'त्यो घटना हामीले बिर्सिएका छैनौं। अझै पनि सबैले १९८२ को विश्वकपमा अल्जेरिया र जर्मनीको प्रसंग बारेमा सम्झन्छन्।'
त्यतिबेला पहिलोपल्ट अल्जेरियालाई विश्वकपको दाबेदारमा हेरिएको थियो। किनकि समूह चरणको पहिलो खेलमा अल्जेरियाले युरोपियन च्याम्पियन जर्मनीलाई २–१ ले हरायो। समूह चरणका तीनमध्ये दुई खेल जितेको अल्जेरिया समूह चरणबाट बाहिरिनुपरेको थियो। समूहको अन्तिम खेल जर्मनी र अस्ट्रियाले मिलेर खेलेको आरोप छ। जर्मनीले उक्त खेल १–० ले जितेपछि अल्जेरिया बाहिरिएको थियो। अल्जेरियन अफिसियलले खेल मिलेमतो भएको भन्दै प्रोटेस्ट हालेका थिए। तर त्यो प्रमाणित भएन।
त्योसँगै विवाद आएपछि फिफाले समूह चरणका अन्तिम खेल एकै समयमा गर्दै आएको छ। भाहिदले भने, '३२ वर्ष लामो समय हो। अहिलेको सफलताबाट म धेरै खुसी छु। हामीले यसमा गर्व गर्छौं। यसका लागि हामी हकदार पनि थियौं। मलाई लाग्छ अल्जेरियाले बहादुरीपूर्ण प्रदर्शन गरेको छ। हाम्रो क्षमता दोस्रो चरण पुग्न हकलाग्दो छ।'
Comments
Post a Comment