आक्रामक कोस्टारिका र रक्षात्मक ग्रीस

वरीयतालाई हेर्ने हो भने यो विश्वकप कोस्टारिकाका लागि कुनै पनि हिसाबले राम्रो थिएन । कोस्टारिका यस्तो समूहमा थियो, जहाँबाट ऊ अघि बढ्न सक्छ भन्ने कसैले सोचेका थिएनन् । दुई पटकको च्याम्पियन उरुग्वे, चार पटकको च्याम्पियन इटाली र एक पटकको विजेता इंग्ल्यान्ड थिए यस समूहमा । तर दोस्रो चरणमा आइतबार खेल्दा कोस्टारिकाको भिडन्त आफूभन्दा पनि वरीयतामा कमजोर टिमसँग हुनेछ ।
यसले कोस्टारिकालाई क्वाटरफाइनलको बलियो दाबेदारका रूपमा लिइएको छ । प्रतियोगिता आउनुअघि समूहको अन्तिम टोली नहुने चाहनासहित आएको थियो, कोस्टारिका । अहिलेको नयाँ वातावरणले त्यही टिम प्रतियोगिताको अन्तिम ८ मा पुग्ने बलियो स्थितिमा पुगेको छ । 'हामी पहिला कमजोर थियौं र अहिले बलियो । त्यो आदर हो जुन हामीले कमाउन सक्यौं,' कोस्टारिकाका डिफेन्डर माइकल उमनाले भने ।
कोस्टारिकाले सबैलाई चकित पार्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । उसले सन् २०१० को विश्वकपमा सेमिफाइनल पुग्न सफल उरुग्वेलाई पहिलो खेलमा ३-१ ले हरायो, दोस्रोमा २००६ को विजेता इटालीमाथि १-० को जित दर्ता गर्‍यो र अन्तिम खेलमा इंग्ल्यान्डसँग गोलरहित बराबरी खेल्यो । यो टिमले प्रतियोगितामा सुरुआती २४ मिनेटमा एक गोल खाए यता गोल खाएको छैन । पूर्व युरोपियन च्याम्पियन गि्रस भने प्रतियोगितामा आफूलाई अन्डर डगका रूपमा प्रस्तुत गर्न चाहन्छ ।
'यो स्थितिमा सबै प्रतिद्वन्द्वी हामीभन्दा बलिया छन्,' गि्रसका मिडफिल्डर लाजारोस क्रिस्टोडोउलो पाउलोसले भने । कोस्टारिकाले यस पटक आकर्षक खेल खेल्यो । त्यसमा मुख्य नायक रहे, स्ट्राइकरद्वय जोयल क्याम्पबेल र ब्रायन रुइज । दुवैले अग्रपंक्तिलाई राम्रोसँग अघि बढाइरहेका छन् । 'जुन अहिलेसम्म हामीले प्राप्त गरेका छौं, त्यो इतिहासको पाटो हो । प्रतियोगितामा हामी सुखद अन्त्य चाहन्छौं,' कोस्टारिकाका राष्ट्रिय टिमका डाइरेक्टर एडि्रअन गुतिइरेजले भने ।
क्याम्पबेल गि्रक क्लब कोलम्पिकोसबाट अहिले आर्सनलमा ऋण्ामा आएका हुन् । उनले आइतबार आफ्ना चार एथेन्सका साथीहरूविरुद्ध खेल्नेछन् । 'उनलाई बोलाउँ भन्ने मलाई लाग्दैन,' गि्रसका मिडफिल्डर आन्दे्रयस समरिसले भने,' यदि बोले भने उनलाई बेस्ट अफ लक भन्छु । तर उनलाई त्यो पनि भन्छु कि उनको टिमले हार्दैछ ।'
यदि कोस्टारिकाका प्रशिक्षक जोर्गे लुइस पिन्टो इमान्दार छन् भने अन्तिम १६ मा उनले बाँकी १५ टिममा रोजेको प्रतिद्वन्द्वी गि्रस नै हो । गि्रसले रक्षात्मक रणनीति अपनाउँदै आएको छ । 'हाम्रो रणनीति सबै खेलमा उही नै हुनेछ । डिफेन्समा बलियो र आक्रमणमा खतरनाक,' गि्रसका प्रशिक्षक फर्नान्डो सान्तोसले भने,'सबैले हरेक टिमले बार्सिलोना र ब्राजिलले खेले जस्तो हेर्न चाहन्छन्, त्यो गलत हो । हामी गि्रस हौं र आफ्नै शैलीमा खेल्छौं ।'
कोस्टारिकालाई गि्रसको बलियो पक्ष र उसको त्यो कथाका बारेमा राम्रोसँग थाहा छ । उसले सन् २००४ मा सबैलाई चकित गर्दै युरोपियन च्याम्पियनसिप जितेको थियो । कोस्टारिका र गि्रसको खेलबाट विश्वकप इतिहासमा नयाँ कुरा भने पक्का हुनेछ । किनकि यी दुवै टिम प्रतियोगिताको क्वाटरफाइनलमा अहिलेसम्म पुगेका छैनन् । जो पुग्नेछन्, त्यसको पहिलो यात्रा हुनेछ ।

Comments

Popular Posts